टिकापुर । कैलालीमा शीतलहर बढ्न थालेपछि टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनले ज्येष्ठ नागरिकलाई निःशुल्क दाउरा वितरण गर्न शुरुआत गरेको छ ।सामुदायिक वन समितिले सोमबारबाट ७५ वर्षदेखि माथिका ११२ घरपरिवारका ज्येष्ठ नागरिकलाई दाउरा वितरण गर्न लागको हो ।
वनले प्रतिव्यक्ति दुई क्वीन्टलका दरले दाउरा उपलब्ध गराउन लागेको छ । शीतलहरमा ज्येष्ठ नागरिकलाई सहज होस् भनेर दाउरा वितरण गरेको वनका अध्यक्ष धनसिंह साउदले बताए । ‘‘७५ वर्षदेखि माथिका ज्येष्ठ सदस्यहरुको सम्मान पनि हुने र चिसोबाट बचाउन घरपरिवारलाई पनि सजिलो हुने भएकाले निशुल्क दाउरा वितरण गर्ने कार्यक्रम ल्याएका हौँ’’, उनले भने ‘‘अघिल्लो वर्ष चोकचोकमा दाउरा वितरण गरेका थियौँ र यस वर्ष पनि चोकचोकमा दाउरा उपलब्ध गराउदैछौँ । साथै ज्येष्ठ नागरिकको घरमै दाउरा पु¥याउन थालेका छौँ ।’’
दाउरा घरमै पाएपछि ज्येष्ठ नागरिक खुशी भएका छन् । ज्येष्ठ नागरिक गम्भीर सिंहले सामुदायिक वनले समस्या बुझेको बताए ।
एक हजार ४०० उपभोक्ता रहेको सो सामुदायिक वनले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । वनले विगतमा एम्बुलेन्स, उपभोक्ताको कृषि प्रयोगका लागि दुई वटा ट्र्याक्टर खरिद गरेको थियो । यसबाहेक वनले उच्च मावि सञ्चालन, सामुदायिक सहकारी संस्था र उपभोक्ताका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था पनि गरेको बताएको छ ।