अवैध रुपमा सगरमाथा पुग्न सहयोग गरेको सिम्रिक एयरलाई कारबाहीको तयारी

everest kitchen

काठमाडौं । भारतीय च्यानल, जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरी नेतृत्वको टोलीलाई अबैध रूपमा सगरमाथा राष्टि्रय निकुञ्ज क्षेत्रमा प्रवेश गराएको पाएपछि सिम्रिक एयरलाई कारबाही गरिने भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार स्वीकृति नै नलिई जी न्यूजको प्रतिनिधिमण्डल निकुञ्ज क्षेत्रभित्र प्रवेश गरेको पाइएको हो । अबैध रुपमा प्रवेश गरेर नेपालको सार्वभौमिकता एवं सर्वाेच्च शिखरको बारेमा विवादास्पद सामग्री तयार पार्ने काममा सहयोग गरेको भन्दै विभागले सिमि्रक एयरविरुद्ध कारबाही प्रकि्रया अघि बढाउने तयारी गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिन आएपछि न्यानो स्वागत पाएका प्रधानसम्पादक चौधरीको टोलीले डिसेम्बर १ मा अवैध रुपमा सगरमाथा क्षेत्रमा गएर रिपोर्ट तयार पारेको थियो । सो रिपोर्टमा उनले सगरमाथामा भारतले दाबी गर्नुपर्ने बताएका थिए । चौधरीले रिपोर्टमा भारतले माउन्ट एभरेस्टको नाम परिवर्तन गरेर स्वामित्व दाबी गर्नुपर्ने बारेमा अभियान चलाएको समेत उल्लेख गरेका छन् ।

सगरमाथा बेस क्याम्पमा ‘प्रवेश शुल्क, हेलिकप्टर ल्याण्डिङ शुल्क नतिरिएको मात्रै होइन, निकुञ्ज क्षेत्रभित्र प्रवेश गर्न अनुमति समेत लिइएको पाइएन, त्यसैले विना अनुमति निकुञ्ज क्षेत्रभित्र हेलिकप्टर ल्याण्डिङ गराएकोमा सिम्रिक एयरलाई कारबाही गर्न सकिने बारे छलफल भएको एक अधिकारीले बताए ।