भक्तपुरको मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

everest kitchen

 

भक्तपुर । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् ।

मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

नगर शिक्षा समितिको बैठकले माघ ४ गतेदेखि विद्यालय सञ्चालन गर्दै यसका लागि मध्यपुरथिमि नगरपालिकाले ७ बुँदे निर्देशिकासमेत जारी गरेको छ । नगरपालिकाले जारी गरेको निर्देशिकामा विद्यालय सञ्चालन सम्बन्धी ढाँचा–२०७७ को बुँदा नं ३ अनुसार विद्यालय सञ्चालन पूर्व गर्नुपर्ने सबै तयारी पूरा गर्नुपर्ने, विद्यार्थी सङ्ख्या र भौतिक उपलब्धताका आधारमा स्वास्थ्य मापदण्ड पालना हुने गरी आवश्यकताअनुसार विद्यालय सञ्चालन सम्बन्धी कार्ययोजना विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत गरी लागू गर्नुपर्ने उल्लेख गरिएको छ ।

विद्यालय सञ्चालनका लागि विद्यालय प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने र तापक्रममापन गर्ने व्यवस्था मिलाउने, सबै विद्यालय र शिक्षकले सङ्क्रमणकालीन योजना बनाउनुपर्ने निर्देशन दिइएको छ ।