everest kitchen

काठमाडौँ। उपत्यकामा सवारीसाधनको चाप बढी हुने सडकमा पर्ने कोटेश्वर–जडीबुटी सडक बिस्तार अघि बढेको छ । डिभिजन सडक कार्यालय काठमाडौँले आगामी असारसम्ममा सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको जनाएको छ ।

सो सडकमा निर्माणस्थल खाली भएसँगै निर्माण अघि बढाउन लागिएको हो । हालसम्म सो सडकको निर्माणको काम सात प्रतिशत सकिएको डिभिजन प्रमुख कुबेर नेपालीले बताए । टुन्डी सुसन जेभिसँग सो सडकको निर्माण छ महिनामा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । सडकका लागि रु १२ करोड छुट्याइएकामा रु आठ करोडमा ठेक्का सम्झौता भएको उहाँले बताए । उनका अनुसार सडकमा तीन लेन थपेर बिस्तार गरिनेछ । उनले भने, “कोटेश्वरबाट जडीबुटीतर्फ जाँदा दायाँ दुई लेन र बायाँ एक लेन थप गर्न लागिएको छ ।”

सो सडकमा विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ । हाल चार लेन रहेकामा तीन लेन थप्न संरचना हटाउने काम अघि बढेको छ । उक्त सडकमा तीन लेन थपिएपछि यहाँको सवारी चाप केही कम हुनेछ । डिभिजनले गत भदौदेखि सडकका दुवैतर्फको निर्माणस्थल खाली गरिरहेको जनाएको छ ।