आगामी चैतबाट २५ मेगावाट बिजुली थपिँदै

everest kitchen

 

लमजुङ । आगामी चैत महिनाबाट मुलुकमा अर्थात् राष्ट्रिय प्रसारण लाइनमा २५ मेगावाट बिजुली थपिने भएको छ । लमजुङ जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजनाको काम चैतसम्म पूरा हुने भएपछि बिजुली थपिन लागेको हो ।

हालसम्म करीब ९८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको यस आयोजनाले सम्भव भएसम्म फागुन अन्तिमसम्म र यदि सम्भव नभए पनि चैत महिनासम्म सबै काम सम्पन्न गर्दै बिजुली बाल्ने तयारीमा रहेको आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले बताए ।

माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको र केही प्रतिशत मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार यस आयोजनामा यतिबेला विद्युत् गृहको काम र सबस्टेशनमा जोड्ने काम मात्र बाँकी रहेको छ । गत असोज महिनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य राखे पनि कोभिडका प्रभावले गर्दा निर्माण कार्य तीव्ररुपमा अघि बढ्न नसक्दा बिजुली उत्पादन चैत महिनाबाट मात्र हुन लागेको आयोजनाले जनाएको छ ।

‘‘आयोजनाको अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको थियो’’, वस्तीले भने “केही काम प्राविधिकले गर्नु पर्ने थियो, प्राविधिकहरु भारतबाट ल्याउनुपर्ने र दुई÷चार दिनपछि फेरि अर्को प्राविधिक ल्याएर काम गर्नुपर्ने त्यहीमाथि १५ दिन क्वारेन्टिनमा राख्नुपर्ने स्थितिले गर्दा असोजमा आयोजनाको निर्माण सकिएन । अब भने निर्माण कार्यमा सहज भएको र निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्दै बिजुली उत्पादन हुनेछ ।’’

यस आयोजना विसं २०७१ बाट निर्माण थालनी हुँदै आएको छ । विसं २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि भूकम्पपछिको अघोषित नाकाबन्दी र विसं २०७६ भदौमा आएको बाढीका कारण निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ । सम्झौताअनुसार आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने गत चैत ३० गतेसम्म रहेको थियो ।