लघुकथा – बिहेको उमेर
राजु क्षत्री अपुरो
केही महिना अघिमात्र रोगले थला परेकी आफ्नी अर्धाङ्गिनीको देहान्त भएपछि मेरा अति परिचित फेसबुके मित्र तर्क बहादुर एक्ला भए । छोराछोरी हुर्कदै थिए। बाउको साथ साथै आमाको भूमिकापनि निर्वाह गर्नु परिरहेको अवस्था थियो उनलाई ।
वर्षेनी पुगेपछि दाजुभाइ नातागोताले अर्को बिहे गर्ने चर्को दवाव दिन थाले । उनी उमेरले दुइ बिसे पाँच नाघेपनि उनका कपाल अझै कालै देखिन्थे भने मकैका ठेट्ना मज्जाले चवाउन सक्ने दाँत यथावत थिए। शारीरिक रुपमा तन्दुरुस्त उनी आजसम्म ठूलो अस्पताल देख्नु परेको थिएन ।
फलस्वरूप उनले आफ्नो निम्ति जीवनसङ्गिनी खोजिदिन आफन्तलाई अनुरोध गर्न थाले। उनका आफन्त लमी कै काम गर्दथे ।
एकदिन लमीले खुसिको खवर लिएर आए । उनले केही फोटोहरू देखाउँदै भने -” ल भान्जा बाबु , यी नानी श्रीमानसँग छोडपत्र गरेर बसेकी, उमेर ४० , यी चाहिँ श्रीमान विदेश गएका तर आजसम्म फर्किएनछन् । बिचरी दु:ख पाएर बसेकी छन् , साथमा आठ बर्षको छोरोपनि , उमेर ३० की, यी चाहिँ बल्ल २० पुगेकी रे ! टुहुरीपनि कत्तिपनि नपढेकी रहिछन् ,भन्दै माग्न आउने जति सबै फर्किएका रे भन्थे । अब भन्नुहोस्, कुन चाहिँ रोज्नु हुन्छ ?”
‘सकभर कन्या नै ठिक होला मामा’ – कुरो खस्न नपाउँदै उनले फोटोतिर नियाल्दै भने । दुबै पक्षबाट सहमति जनाउँदै विवाहको छिनोफानो गरियो। उनले आफ्नी हुनेवाली श्रीमतीको फोटो सबै विवरण मेरो इनबक्समा पठाए।
मैले केटी ‘सुन्दर रहेको ‘प्रतिक्रिया दिँदै थिएँ फेसबुकमा कसैले पुरानो समाचारलाई प्रतिक्रिया लेखेर पुन :चालू अवस्थामा ल्याइदिएको देखेर मेरो ध्यानाकर्षण हुन पुग्यो। त्यहाँ मेरा मित्रले लेखेका कमेन्टमा सयौं लाइक र कमेन्ट मौजुद रहेछ। समाचार थियो – “४८वर्षे जवानको २० वर्षिय युवतीसँग विवाह! ”
उनको आफ्नो प्रतिक्रिया थियो – “मर्ने बेलामा हरियो काँक्रो। “