उद्धार : कौशिला अधिकारी

everest kitchen

लघुकथा : उद्धार

कौशिला अधिकारी

असार साउनको महिना थियो । लगातार दिनभर रातभर ठूलो मुसलधारे पानी परिरहेको थियो । खोला नाला गड्याङगुडुङ पञ्चेबाजा बझाएझैँ गरि बजिरहेका थिए । साना खोल्सा खाल्सीमा पनि पानीको भेल बगेर वारपार गर्न नसकिने अवस्था भएको थियो ।

एकछिन भए पनि पानी पर्न कम होला भन्यो, झमझम साँझ पर्दै गयो । झनझन ठूलो पानी पर्दै गयो । मेरो घरभन्दा माथि ठूलो भिरपाखा थियो । त्यो भिरपाखा सबै पहिरो आएर मेरा बुढा हजुरबा आमा सहित मेरो घर, एक बिगाहा जग्गा ,भएको धन सम्पती सबै पुरिदियो । लाउँ भने एक जोर कपडा छैन । खाउँभने एक गाँस खाना छैन । बसुँ भने एक रात ओत लाग्ने ठाउँ छैन ।

यो बाढी पहिरोले मेरो सोचेको सपना सबै चकनाचुर परिदियो । अन्त कतै जाउँ भनेपनि मलाई उद्धार गर्नै मेरो नातेदार छैन । अरुको घरमा कसले भोक लागेको छ खाना खा भनी सोधिदिने मान्छे छैन । जाउँ भनेपनि खान नपाई आएकी सोच्लान भन्ने लाज र डरले माटोलाई ओच्छाने बिस्तारा बनाई आकाशलाई ओड्ने सिरक बनाई, हावालाई खाना बनाई यो सडक पेटिमा बस्न बिवश भएकी थिएँ । आमा मलाई जन्म दिएर बित्नु भएको रे, बिदेश गएका बुबा १५ वर्ष भयो अझै फर्किनु भएन। यता प्रकृतीले दिएको कहर अलग्गै। शत्रुहरू पनि अाज तँलाई ठिक्क भयो भनी ताली बजाउन थाले होलान् ।

यहि सोच्दै बेहोस भएछु म । बिहान होस् खुल्दा म कुनै क्याम्पमा रहेछु। मेरा वरिपरि सेता कपडा लगाएका मान्छेहरू टन्नै देखिन्थे। त्यही मेसोमा एकजनाले ठुलामान्छे देखिने व्यक्तिले भनेको सुनेँ , यी नानीलाई पनि होस् आयो। यीनलाई खानपिन र आवासको उचित व्यवस्था मिलाइयोस् । मनमनै सोचेँ -” मानवियता अझै मरिसकेको रहेनछ।”