नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुने

everest kitchen

 

काठमाडौं । नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि बिहीबार दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर हुने भएको छ ।

प्रोटोकलमा नेपाल सरकारका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायल सरकारका तर्फबाट नेपालका लागि इजरायली राजदूत हनान गोदरले हस्ताक्षर गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

प्रोटोकलमा हस्ताक्षर भएसँगै इजरायलको विशिष्ट श्रम बजार नेपाली युवाका लागि खुला हुनेछ । जसअनुसार ५०० नेपाली युवा रोजगारीका लागि इजरायल जानेछन् । यसले केयरगिभर, कृषि, होटल तथा रेष्टुरेन्ट, निर्माणलगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर खुल्नेछ ।

नेपाली युवाले इजरायली श्रम कानूनअनुसार सेवा सुविधा पाउनेछन् । प्रोटोकल अनुसार ५०० नेपाली रोजगारीका लागि इजरायल जाने मन्त्रालयका सचिव तोयम रायले बताए ।

इजरायली रोजगारमा निजी क्षेत्रलाई सहभागी गराइएको छैन । दुई देशबीचको सरकार–सरकार संयन्त्र (जिटुजी) बाट नेपाली इजरायल जानेछन् । यसअघि विभिन्न चरणमा छलफल भई सहमतिसमेत भइसकेकाले पहिलो क्षेत्रका रुपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत) मा नेपालीले रोजगारीको अवसर प्राप्त गर्नेछन् ।

वैदेशिक रोजगारीका लागि इजरायललाई आकर्षक गन्तव्यका रुपमा लिइन्छ । आम्दानी, सामाजिक सुरक्षा तथा रोजगारीजन्य श्रमिक स्वास्थ्य सुरक्षाका दृष्टिले इजरायल विश्वकै उत्कृष्ट मुलुकमा पर्दछ ।

केही वर्षदेखि नेपाली कामदार लैजान बन्द गरेको इजरायलले पछिल्ला समय नेपाली श्रमिक लैजाने चाहना गरेको थियो । इजरायलले कृषि तथा केयर गिभरको क्षेत्रमा विदेशी कामदार लिँदै आएको छ ।

इजरायलमा केयर गिभरको संख्या बढी छ र नेपालीहरू पनि धेरै जसो केयर गिभरका रूपमै नै त्यहाँ जाने गरेका छन् । इजरायलमा करीब दुई हजार ५०० को संख्यामा नेपाली रहेका तेलअभिवस्थित नेपाली दूतावासले जनाएको छ । इजरायलको श्रम कानून निकै नै श्रमिकमैत्री भएकाले तुलनात्मक हिसाबले अन्य देशभन्दा कम समस्या आउने गरेको छ ।

सरकारी माध्यमबाट नेपाली श्रमिक इजरायल पठाउँदा पारदर्शी हुनेगरी कार्यविधि तयार गरिएको श्रम मन्त्रालयले जनाएको छ । श्रम मन्त्रालयका अनुसार इजरायलमा दक्ष र सीपयुक्त श्रमिक सरकारले पठाउने भएकाले यसलाई सकेसम्म व्यवस्थित र पारदर्शी बनाउने गरी कार्यविधि बनाएको मन्त्रालयको दाबी छ ।

गत असोज १४ गते नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’मा हस्ताक्षर भएको थियो । सम्झौतामा नेपालका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य र इजरालयका तर्फबाट त्यहाँका परराष्ट्रमन्त्री गावी अस्खेनाजीले हस्ताक्षर गरेका थिए ।