लघुकथा : सम्झना शक्ति
डा मित्र पाठक “काँचुली”
उनीहरुले आमासित गर्ने ब्यवहार देखेर छिमेकमा हल्का गाईँगुइँ त थियो अली अली तर पनि गन्यमान्य भलाद्मी र अवकास प्राप्त शिक्षित मान्छेका कारण सबै कुरा ओझेलमै थिए । कुनै कालखन्डमा आफुसँगै जागिर खाएका आजका पाहुना सत्कारमा उनी आफैं पनि भान्सामा सघाइ राखेका थिए आधा आकाशलाई।
छोराछोरी बिदेशमा पिआर ग्रीन कार्डसँगै उतै जम्न लागेका कुरा, देशमा भएका सरकार र राजनीतिक परिवर्तनका कुरा, महंगी, भ्रष्टचार र जताततै फैलिएका असंगतीका कुरा, यस्तै यस्तै बिषयले धेरै समय पाइराख्यो आजको उनीहरुको भेटमा । गफसँगै मिठा मिठा परिकार तयार भईसकेका थिए । घरमा पाहुन आएकाले होला घरका केटाकेटी आ-आफ्ना कोठातिरै थिए । एक्कै छिनमा खाना खाने कार्यक्रम सुरु भो । सबैले गफमा मस्त हुँदै खाँदै थिए, भित्रबाट एउटा बिट फाटेको पूरानो थाल लिएर बुढी आमै डाइनिङ रूमतर्फ अाइन र भनिन- ” मासु नि पका’का र’ छौ त !, यस्सो एक दुई टुक्रा मेरा थालमा नि हाल्दिएको भए के बिग्रन्थ्यो र !” खै अलिकती भात थप’ओ त “।
घरकी भान्से बोलिन् – “तपाईंलाई कोठाबाट बाहिर नआउनु भनेको हैन ? पुग्ने गरेर दिएकै थिएँ त।”बुढी बिस्तारै बोलिन् – “ए पाहुना आउनु भा’ र’छ पो बाहिरन आउनु भनेकी रै’छ । अनी मलाई खुलस्त भन्न पर्छ नि त !”बुढी थोरै भात थपेर भित्र पसिन् ।बाहिर बुढीकी बुहारी बोलिन् – ” मान्छे चिन्नुहुन्न, आँखा अल्ली देख्नु हुन्न, बोली पनि लर्बराउछ, सम्झना शक्ति पनि त्यती छैन, मैले त एक पटक देखाउँ पाटन लगेर भनेको पनि हो.. उहाँ मानिसिन्न ।” पाहुना मुखामुख गर्न थाले । ‘उहाँ’ को भने मुन्टो घोसे भई सकेको थियो ।
देवचुली न पा ७ नवलपुर (नवलपरासी)