लघुकथा : हिसाब
लक्ष्मण थापा
“ हिंड न पृथ्वीचोक जाम , मैले फलामको गेट बनाउँन दिएको, ल्याउँनुप-यो ।” पर्वतले बिहानै मेरो घरमा आएर भन्यो । पर्वत र म सानैदेखिका लगौंटिया साथी हौं । उ ओभरसियरको जागिरे, म ढाक्रे । “हुन्छ । जाम् न त !” म नजाने कुरै थिएन । तयार भइहालें ।
दुबैजना साइकलमा पृथ्वीचोक पुग्यौं । ‘माछापुच्छ्रै मेटल वर्क्स”मा जहाँ उस्ले फलामे गेट बनाउँन दिएको रहेछ ।
“मेरो गेट तयार भयो होला नि !” टेबुल पछाडिको कुर्चीमा बसेको साहुजीलाई नमस्कार गर्दै पर्वतले सोध्यो । “ तयार भयो सर ।” साहुले कुर्चीबाट उठेर बाहिर निस्कदै भन्यो र बाहिर पुगेर “ ओई सन्ते यता आ’त !” भन्दै बोलायो । हामी पनि साहुसंगै बाहिर निस्क्यौं ।
पच्चीस तीस वर्ष जतिको दुब्लो ख्याउटे सन्ते हाम्रो नजिक आयो । “ हिजो तयार भ’को सानो गेट जोखिदे त !” हामीतिर फर्कंदै “तपाइँहरु पनि गएर हेर्नुस !”
साहु भित्र पस्यो । हामी अलि पल्तिर फलामे ग्रिलवाला गेट जोख्ने ठाउँतिर गयौं । सान्सानो गेट रहेछ । सन्तेले तराजुमा राखेर जोख्यो ।
“ कति किलो भयो ?” पर्वतले सोध्यो ।
“ सर सतासी किलो भयो ।”
“ लौ यो राख । साहुलाई असी किलो भन है !” पचासको नोट हातमा राखिदिंदै पर्वतले भन्यो ।