चितवन । चितवनका पुराना वामपन्थी नेता खम्बसिंह कुँवर (काजी बा)को मंगलबार बिहान भरतपुर अस्पतालमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका कुँवरको ९५ वर्षको उमेरमा निधन भएको हो ।
लामो समयदेखि प्रोस्टेटको समस्या झेल्दै आएका कुँवरलाई एक हप्ताअघि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । उनलाई पछिल्लो समयमा निमोनियासमेत भएको थियो ।
२०११ सालदेखि कम्युनिष्ट पार्टीमा लागेका कुँवरले २०२२ सालदेखि आफ्नै नेतृत्वमा चितवनबाट प्रगतिशिल पार्टीको सुरुवात गरेका थिए । पछिल्लो समय उनी नेकपाको केन्द्रीय सल्लाहाकारसमेत थिए ।
कुँवरको अन्तिम संस्कारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आउने कार्यक्रम छ । प्रचण्डले उनलाई राजनीतिक गुरु मान्दै आएका छन् ।