मलेसियाबाट श्रमिकको सामाजिक सुरक्षा सुविधा नेपाल ल्याउन समझदारी हुँदै

everest kitchen

 

काठमाडौं । मलेसियामा वैधानिक रुपमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षाबापतको सुविधा तथा क्षतिपूर्ति नेपाल ल्याउनेबारे मलेसिया र नेपालबीच सहकार्यको समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । समझदारीपत्रमा हस्ताक्षर गर्न सोमबारको मन्त्रिपरिषद बैठकले वैदेशिक रोजगार बोर्डलाई अनुमति दिइसकेको छ ।

मलेसियाको करिब डेढ वर्षअघि नै आप्रवासी श्रमिकलाई पनि समाजिक सुरक्षा दिने गरी कानून बनाएको थियो । मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियामा कार्यरत करिब ९० प्रतिशत कामदार मलेसियाली सामाजिक सुरक्षा संस्था -सोसल सेक्युरिटी अर्गनाइजेसन) ‘सोक्सो’मा आवद्ध भइसकेका छन् । यो मलेसियाको श्रमिकको समाजिक सुरक्षा हेर्ने संस्था हो ।

मलेसियामा अहिले करिब साढे ३ लाख नेपाली श्रमिक वैधानिक रुपमा कार्यरत रहेको अनुमान छ ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार अङ्गभङ्ग भएर नेपाल फर्किने श्रमिक र मृतक श्रमिक परिवारलाई दिइने क्षतिपूर्ति दिन नेपालबाट आधिकारिक र जिम्मेवार निकायको खोजी भइरहेको थियो । डेढ वर्षदेखि कुन निकायलाई त्यस्तो क्षतिपूर्ति ल्याउने प्रक्रियाको सरलीकरण गर्ने जिम्मा दिने भन्नेबारे छलफल चलेको उनको भनाइ छ ।

सरकारले वैदेशिक रोजगार बोर्ड नै सो अधिकार दिने गरी निर्णय गरेपछि अब मलेसियामा ज्यान गुमाएका परिवार र आंगभंग भएका श्रमिकले मलेसियाली सरकारबाट पाउने क्षतिपूर्ति बोर्डमार्फत नेपाल आउने भएको छ ।

‘समझदारीपछि सोक्सोबाट आप्रवासी श्रमिकले स्वदेश फर्किएपछि पाउने गरी तय भएका र उनीहरुका परिवारले पाउने क्षतिपूर्ति र सुविधा सजिलै नेपालमै प्राप्त गर्ने छन्,’ राजदूत पाण्डेले भने ।

के छन् सुविधा ?
अहिले मलेसियाली रोजगारदाता कम्पनीमा काम गरिरहेका आप्रवासी कामदार विवरण अनिवार्य रुपमा सोक्सोमा दर्ता हुनपर्छ । उनीहरुको सामाजिक सुरक्षाका लागि सरकारले रोजगारदाता कम्पनीबाट निश्चित प्रतिशत सेवा शुल्क पनि लिन्छ । कामदारको मासिक आधारभूत पारिश्रमिकको १.२५ प्रतिशत बराबरको रकम सोक्सोमा रोजगारदाता आफैंले पठाउनुपर्छ, श्रमिकको तलबबाट कट्टा गर्न नपाइने नियम छ ।

यस्ता सूचीकृत कामदारहरु कुनै कारणबस अंगभंग र बिरामी भएमा सोक्सोले तोकेका सुविधाहरु प्राप्त गर्नेछन् । उनीहरुलाई क्षतिपूर्ति तथा औषधि उपचार दिने व्यवस्थाको ग्यारेन्टी सोक्सोले नै गरेको छ ।

कारणबस मृत्यु भएमा नेपालमा रहेका श्रमिकका परिवारले क्षतिपूर्ति पनि प्राप्त गर्छन् । शब व्यवस्थापन र अन्तिम संस्कारको खर्च पनि सोक्सोले नै दिन्छ । मृत्यु भएका श्रमिकको मलेसियामा नै दाहसंस्कार गरे परिवारले २ हजार रिंगिट र शव नेपाल ल्याए ६ हजार ५ सय रिंगिटसम्म खर्च पाउँछन् ।

बोर्डका कार्यकारी निदेर्श्क राजन श्रेष्ठका अनुसार मृतक कामदारको सबैभन्दा नजिकको हकवालाले उसको मृत्यु हुँदाको बखत श्रमिकले पाइरहेको तलबको ९० प्रतिशत रकम मासिक रुपमा आजीवन प्राप्त गर्छन् । छोराछोरीले भने २१ वर्ष ननाघेको अवस्थामा मात्रै यस्तो सुविधा पाउँछन् ।

कामको सिलसिलामा दुर्घटनामा परेर अस्थायी रुपमा अपाङ्ग भएमा आजीवन आर्थिक सहायता पाउने, अपाङ्ग भएर स्वर्देश र्फकनु परे नियमित अपाङ्गता सुविधा पाउने र बिरामी परेमा उपचार खर्च पाउने लगायतका सुविधाहरु पनि सोक्सोले ग्यारेन्टी गरेको छ । नेपालमा आउने त्यस्ता सुविधा तथा क्षतिपूर्तिको व्यवस्थापन अब बोर्डले गर्नेछ । अनलाइन खबरबाट