लघुकथा – अनुत्तरित प्रश्न
गीता रेग्मी
लखतरान परेर साेफामा यसाे के ढल्केकाे थिएँ । भुसुक्कै भएछु । फाेनकाे टुई टुईले बिउझिएँ। यसाे हेरेको विदेशी फाेन रहेछ ।
उठाउँ कि नउठाउँ भयो ! थाकेर शिथिल भएको थिएँ ! उसको फाेनले मेरो न त थकान मेट्थ्याे न त भाेक नै ।
युटुवर पत्रकारका जस्ता अन्ट सन्ट प्रश्नका जवाफ दिन दिक्क लाग्याे ।
गम खाँदा खाँदै फाेनकाे घण्टी बन्द भयो ! अनयासै मैले राहतको श्वास फेरेँँ । तर फेरि फाेन टिटी गर्न थाल्यो ।
अघिल्ला फाेन बार्ता सम्झिएँ। विदेश बस्दाकाे उसको रबाफ सम्झिएँ । देशमै बस्ने मान्छेलाई गरेको तिरस्कार । नेपालीको के कुराे गर्नु र ? जस्ता उसका टुप्पिएका अभिब्यक्ति । फुर्सद हुदा त आफू भन्दा मान्ने मान्छे भएकोले सुनिदिंदा के फरक पर्छ र ? जस्तो लाग्ने थकित हुदा तनाबमा हुदा चै झन तनाब थप्ने ।
रिल घुम्दा घुम्दै घण्टी राेकियाे । ठिकै भयो ! तर ऊ यति ज्याद्राे छ कि उसको आन्द्रा भुँडी नखाेलि शान्त नै हुदैन ।
मैले पनि फाेन नउठाई धरै पाईन ।
“हेलाे के गर्दै हाे ? ” “पल्टिराकाे ” मैले यसै भने ।
“क्या मज्जा छ है तिमीहरूलाई ? खायो सुत्याे !” उसको सधैंको जस्तो हेपाहा बाेलि मेरो कानमा ठाेकिने बित्तिकै मेरो दिमाग रिनिनि भयो ! घर बनाउदाकाे दु:ख, केटाकेटीकाे लालनपालन र यसै यसै मुर्जाएका आफ्ना रहरहरू सबै सबै एकैपटक जुरुक्क जुरमुराए !
मेरो मुखबाट अनायासै निस्कियाे । त्यस्ताे मस्ति छाेडेर किन परदेशमा भासियाै प्रभु ? फर्कनुहोस् ।
धेरै बेर सम्म उसको आवाज आएन । उसका मनमा पनि नेपाल हुँदा खाएका हण्डर र ठक्करकाे हुरि चलेको हुँदाे हाे । उसलाई अनुत्तरित बनाउने मेरो कुनै उद्देश्य थिएन ।