लघुकथा : भरोसा
इन्दिरा देवकोटा
पंण्डित चेतनारायणको छोरो ८ वर्ष पछि घर आउने कुराले परिवार निकै ख़ुशी छ। ग्रीनकार्ड पाएर आउँदै गरेको छोरो प्रति गर्व छ दुबैलाई ।
कृष्णलाई लिन एयरपोर्ट पुगेका चेतन र सृजना छोरा कृष्णलाई देख्दा भगवान कृष्णको रूप जस्तो देखिए । “सर्लक्क परेको जिउडाल , गोरो अनुहार , रसिलो ओठ ………।अहो ! कति सुन्दर दुबै मुखा मुख गरे । “
सबै घर फर्किए । कृष्णको बिहेको कुरा चलिरहेको थियो । फेसबुक बाटै केटा केटीको कुरा भएकोले बिहे छिटै भयो । केहि दिनको नेपालको बसाई पछि छोरा बुहारी विदेश पठाएर बुढाबूढी घरमा बसेका थिए ।
छोरा बुहारी गए देखि सम्पर्कमा पनि टाढा हुँदै गए । बाबु आमाको खासै वास्ता गरेनन् । बाबु आमाले फोन गर्दा ब्यस्त छौ पछि गर्छौं भन्दथे । बाटो हर्दा हप्तौ सकिन्थ्यो तर ……। चेतन र सिर्जना दुखी हुन थाले । चेतनले छोराबाट आशा नगर्न सिर्जनालाई आग्रह गरे।
चिन्तै चिन्ताले चेतन बिरामी परे । उनी यस संसार बाट सधैको लागि बिदा भए । बाबुको काजक्रिया गर्न आएको छोरालाई सिर्जनाले “बाबु म कसरी बस्ने तिमीहरू फर्केर आऊ नत्र म पनि जान्छु भनिन्। “
बाबाको बर्षदिनको काम सकेर लैजान् बचन दिएर कृष्ण बिदेश फर्कियो । दिन बिते वर्षदिनको काम सकियो ।आमालाई घर बेच्न लगाएर पैसा सबै आफ्नै खातामा राख्यो ।
भोलि अमेरिका जाने तर सिर्जनालाई बुढाको सम्झनाले सतायो ।उता अर्को कोठामा छोरा बुहारीको गुन गुन आवाज़ सुनेर ऊनी ढोकानिर गइन् । दुबैको रहस्यमय कुरा बुझेर रोइन् ।
सबै एयरपोर्ट पुगे ।केहि समयको प्रतिक्षा कक्षको बसाई पछि कृष्णले आमालाई “यहिँ बस्न कतै नजान भन्दै आफूहरू टिकट लिएर आउने बतायो ।
“ कृष्णसंगै आमा उठेर बाटो छेक्दै भनिन् ।” बाबु त्यो सम्पती सबै तेरै त थियो तैले बेचिस ! यदि तैले भनेको भए मैले मेरो नामको सम्पूर्ण जेथा बेचि दिने थिएँ! तेरो बुबाले अन्तिम समयमा बानेश्वरका दुइटा घडेरी र तिलौरीको १५ कट्ठा खेत कसैलाई नभन्ने सर्तमा मेरो नाममा गरिदिनु भएको थियो । “
“तेरो ब्यवहारले हामी पहिला नै सचेत थियो ! म विदेश जान हैन !तँलाई बिदा गर्न आएकी हुँ ! तँ जा ! सुखद यात्राको कामना ! तेरा लोग्नेस्वास्नीका कुरा मैले सबै सुनेकी थिएँ ! ……….! मेरो जस्तो सन्तान भग्वानले कसैलाई नदेउन् “ भन्दै सिर्जना ऑसुका भेल बगाउँदै फर्किन् । कृष्ण र उसकी पत्नी निःशब्द टोलाइ रहे ।
कपिलवस्तु तौलिहवा