मकवानपुर। उच्च अदालतले मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट राजिनामा नदिएको फैसला गरेको छ ।
अदालतले विष्टलाई उपाध्यक्षको हैसियतमा नियमित कामकाज गर्नमा अवरोध नगर्न गाउँपालिकालाई आदेश समेत दिएको छ । उच्च अदालत पाटन, हेटौँडाका न्यायाधीश महम्मद साविर हुसेन र चण्डीराज ढकालको संयुक्त इजलासले मनिला विष्टले राजिनामा दिएको कुरालाई खारेज गरिदिएको विष्टकोतर्फबाट बहस गर्नुभएका अधिवक्ता मदनकुमार दाहालले जानकारी दिए ।
अदालतले विष्टले राजिनामा दिएको भन्ने कुरा प्रमाणित नभएको भन्दै नियमित कार्यमा रोकतोक हुनु नहुने बताएको छ। “मैले राजिनामा दिएकै थिएन, मप्रति अन्याय भएको थियो, अदालतले मलाई न्याय दियो”, बिष्टले भनिन्न ।
मनहरी गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्ष दुवै जना तत्कालीन नेकपा(एमाले) बाट विजयी भएका हुन् । गाउँपालिकाका क्रियाकलाप सञ्चालनका क्रममा केही समयदेखि दुवै जनाबीच मतभेद उत्पन्न भएको थियो । मतभेदकैबीचमा गत मङ्सिर २९ गते उपाध्यक्ष विष्टले पदबाट राजीनामा दिएको खबर सार्वजनिक भएको थियो ।