बैतडी । जबर्जस्ति करणीपछि ज्यान लिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनामा संलग्न रहेका भनिएका दोषी दिनेश भट्टले बयान फेरेका छन् ।
आज सरकारी वकिल कार्यालयमा लिइएको बयानमा दिनेशले जबर्जस्ति करणीपछि ज्यान लिएको स्वीकारेका दिनेशका बुुवा दीपकराज भट्टले जानकारी दिए । बुधबार सार्वजनिक गरिएका दिनेशले यसअघि आफूले ज्यान मात्रै लिएको बताउँदै आएका थिए । तर आज दिनेशका बुबा, प्रहरी अनुसन्धान अधिकृत, सरकारी वकिलसहित रहेको टोलीले संयुक्तरुपमा लिएको बयानमा जबर्जस्ति करणीपछि ज्यान लिएको स्वीकारेका हुन् ।
यस्तै आजै बयानका क्रममा दिनेशले घटनास्थलमै भागरथीको घडी पनि रहेको बताएका थिए । दिनेशले भनेकै आधारमा प्रहरीले घटनास्थलमा खोज्दै जाँदा घडी पनि फेला पारेको थियो । दीपकराजले भने , “पुरानो घरायसी रिसिइबी र विद्यालयको हाफ टाइममा जिस्क्याएको भनेर भनेको छ ।”
लवलेक जङ्गलमा पुगेपछि पहिला सडकबाट धकेलेर भिरमा लडाएको त्यसपछि बेहोस अवस्थामा जबर्जस्ती गरेको र पछि घाँटी निमोठेर ज्यान लिएको समेत दिनेशले बयान दिएका छन् । गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लबलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् । त्यसपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको थियो ।
भागरथीको शव परीक्षण रिपोर्टमा जबर्जस्ति करणीपछि ज्यान लिएको भन्ने उल्लेख गरिएको छ । बुधबार नै मृतक भागरथीका दाजु शङ्कर भट्टले दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता गरेकाले जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान गर्न बैतडी प्रहरीलाई अनुमति दिइएको छ ।