मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश

everest kitchen

 

काठमाडौं । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा पेस भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले प्रस्ताव टेबुल गरेका हुन्।

मुख्यमन्त्री राई विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वसको प्रस्ताव दर्ता गरेको थियो। नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १२९ (१) बमोजिम अविश्वासको प्रस्ताव पेस भएको हो ।

९३ सदस्यीय प्रदेश सभामा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ जना सांसद रहेका छन्। मुख्यमन्त्री राईविरुद्ध नेकपा प्रचण्ड–माधव समूहका ३७ जना सांसदहरुले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ती मध्ये ४ जना सांसदले हस्ताक्षर फिर्ता लिएका छन् । प्रदेश सभामा बहुमतका लागि ४७ जना सदस्य आवश्यक हुन्छ ।