ज्येष्ठ नागरिक दिवा सेवा अक्षयकोष शुभारम्भ

everest kitchen
photo file

परासी। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा ज्येष्ठ नागरिक दिवा सेवा कार्यक्रम सञ्चालनार्थ अक्षयकोषको शुभारम्भ गरेका छन । सुनवल नगरपालिका–४ स्थित कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाद्वारा आज आयोजित समारोहमा संस्थाले स्थापना गरेको रु २५ लाखको अक्षयकोषको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले शुभारम्भ गरेका हुन् ।

सो अवसरमा मन्त्री त्रिपाठीले तीव्र विकास र व्यस्त जीवनशैलीले आमाबुबा र छोराछोरीबीचको सम्बन्ध टाढा हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे । यो समस्या सामाजिक समस्याका रुपमा विकास हुँदै गएकाले यसको निराकरणका लागि सरकारले पहल गर्ने उनको भनाइ थियो । मन्त्री त्रिपाठीले आमाबुबालाई हेला गर्ने प्रवृत्ति बढिरहेको बेला संस्थाले राम्रो प्रयास गरेको भन्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

संस्थाले २०७२ सालदेखि नै ज्येष्ठ नागरिक दिवा सेवा कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष गोपाल आचार्यले राससलाई जानकारी दिए । दैनिक ८० देखि १३० जनासम्म ज्येष्ठ नागरिक सो संस्थामा आएर एकापसमा भलाकुसारी गर्ने, दुःख–पीडा आदानप्रदान गर्ने, मनोरञ्जन गर्दै दिन बिताउने गरेका छन् ।

घरपरिवारको हेरचाह पाउन नसकेका ज्येष्ठ नागरिकलाई यसरी दैनिकरुपमा सेवा गर्दै खाजा खुवाउने गरिएको अध्यक्ष आचार्यले बताए । अक्षयकोष स्थापनापछि त्यसबाट आउने ब्याजले ज्येष्ठ नागरिकको खाजा खर्च र कर्मचारीको तलब भुक्तान गरी यस कार्र्यक्रमलाई निरन्तरता दिन सकिने विश्वास गरिएको उनले बताए ।