सीता शर्माका चार मुक्तक

everest kitchen

सीता शर्मा


न त्यो आकाशको जुन तारालाई सोध्न सकेँ
न धरामा रहेका जिवित सारालाई सोध्न सकेँ
सिसालाई हिरा सम्झने गल्ती गरेछौ प्रिय
घात गर्नुपर्ने विवशता न प्यारालाई सोध्न सकेँ ।


बदलिँनेछ यहाँ मौसम टुसाउनेछ पल्लवी
शिशिर याम घनघोर घटा मुस्कुराउनेछ रवि
प्रतिकूल समय अनुकूल बनाउने प्रयासमा
प्रकृति प्रितमा मोहकताले हराउनेछ कवि।


अनायासै आउँछौ जब पल प्रिय लाग्छ
प्रेम पूर्ण बनी दिन्छौ रहर आँफै जाग्छ
जिउने शैली जिन्दगीको सिकिरहन्छु म
जीवनगीत गाईदिन्छौ मन साधिन माग्छ ।


एउटा पत्र तिम्रै नाममा पठाएको छु प्रिय
मुटुलाई तिम्रो यादमा खटाएको छु प्रिय
कति रात बिताऊ अब जूनलाई नियालेर
प्रतिक्षामै यो जिन्दगी कटाएको छु प्रिय।

(पर्वत )