चालिसको दशकदेखि आफ्नो लघुकथा लेखनको सुरुवात गरेेेका साहित्यिक हस्ती विश्वराज अधिकारीका तीन लघुकथा सङ्ग्रहका साथै अन्य बिधाका कृतिहरूपनि प्रकाशित भएका छन् । लघुकथा कै सेरोफेरोमा रहेर उनीसंग राजु क्षत्री अपुरोले लिएको संक्षिप्त अन्तर्वार्ता ।
नमस्कार सर, हार्दिक स्वागत गर्दछौँ । आफ्नो परिचय बताइदिनु होस् न।
— मेरो पनि हार्दिक नमस्कार , म विश्वराज अधिकारी जन्म मिति सन् १९५९, हाल म ६२ वर्षको भएँ ।
छतौना, सर्लाही मेरो जन्मस्थल हो। काठमाडौमा बसोबास गर्ने म हाल अमेरिकाको ओक्लहोमा राज्य स्थित ओक्लहोमा सिटी कम्युनिटी कलेजमा प्रध्यापनरत रहेको छु। मेरो प्रध्यापन गर्ने विषय: बजारशास्त्र, व्यवस्थापन, व्यापार आदि हुन् ।
आफ्नो साहित्यिक यात्रा बारे जानकारी गराइदिनु होस् न ।
— मेरा प्रकाशित कृतिहरू
१. सूर्य (लघुकथा सङ्ग्रह-२०५४)
२. बहलिया (कथासङ्ग्रह-२०५८)
३. अभिनय (लघु कथासङ्ग्रह-२०६०)
४. मधुर मिलन (कथासङ्ग्रह-२०७०)
५. मिसिसिपीको किनार (कथासङ्ग्रह-२०७१)
६. रानीघाट (कथासङ्ग्रह-२०७२)
७. विश्वगीता (श्रीमद् भगवद् गीता:मूलपाठ एवं व्याख्या २०७२)
८. I Was Wrong (A Collection of Short Stories in English-July 2016)
९. अन्तिम निर्णय (लघुकथा सङ्ग्रह-२०७३)
१०. बङ्मती से लमहा (गीत सङ्ग्रह, बज्जिका भाषा-२०७३)
११. नलेखिएका कथा (कथासङ्ग्रह-२०७६)
१२. अचम्म (महत्वपूर्ण, रोचक, आश्चर्यजनक घटनाहरूको सङ्कलन-२०७६)
१३. अमेरिकी अर्थतन्त्रका विशेषताहरू (दृष्टिकोण २०७६)
१४. अधुरो प्रेम (गीत सङ्ग्रह- २०७७)
१५. कहाँ गेल ऊ लोग (संस्मरण-बज्जिका भाषामा) प्रेसमा
१६. सफलताका सुत्रहरू (अनुभव एवं दृष्टिकोण) प्रेसमा
१७. मेघदूत र प्रेम (प्रेम परिचय, महत्व, व्याख्या एवं मूल पाठ) प्रेसमा
१८. सागरमणि दाइ नेपाल फर्किनु भयो (कथा सङ्ग्रह) प्रेसमा
Blogger: http://bishwarajadhikari.blogspot.com/ (समसामयिक लेख एवं रचनाहरू प्रकाशन)
Web Site: http://www.bishwageeta.org/#/?_k=2bb85v (ध्वनी र शब्दमा श्रीमद् भगवद् गीताको लेखक द्वारा व्याख्या एवं मूल पाठको नेपालीमा अनुवाद)
विश्वविद्यालय (त्रि वि वि नेपाल) मा पढाइने व्यवस्थापन विषयका एक दर्जन पुस्तकहरू प्रकाशित
कान्तिपुर, गोरखापत्र, देशान्तर, दृष्टि साप्ताहिक लगायत अन्य पत्र पत्रिकाहरूमा एक हजार भन्दा बढी लेखहरू प्रकाशित छन् । त्यस्तै स्तम्भकार: अर्थ विशेष, प्रतीक दैनिक (वीरगञ्जबाट प्रकाशित), सम्पादक: प्रवाशन, साहित्यिक जर्नल (बेलायतबाट प्रकाशित), विभिन्न साहित्यिक पत्र पत्रिकाहरूमा मेरा कथा, लघुकथाहरू प्रकाशित भइसकेका छन् । पहिलो प्रकाशित लघुकथा सङ्ग्रह भने “सूर्य” हो। यसबारे विवरण माथि छ। विश्वभरिका जीवनलाई समेटेर मैलै लेखेको पहिलो लघुकथा सङ्ग्रह भने “अन्तिम निर्णय” हो। यसैगरी विश्वभरिको जीवनलाई समेटेर अंग्रेजी भाषामा मैले लेखेको लघुकथा “I Was Wrong” हो। यो किताबले विश्वभरिका विभिन्न देशका जीवनलाई दर्शाउने प्रयास गरेको छ।)
हालै मात्र लघुकथाका पेजका एडमिनहरूको भेला गराउनु भयो यसको खास उद्देश्य बारे थप जानकारी गराइदिनु होस् न ?
-श्रष्टा साँझ अमेरिकाको तर्फबाट मैले जुम प्रविधि मार्फत यही फेब्रुअरी २१, २०२१ मा फेसबुकमा लघुकथा पाना संचालन गर्ने विभिन्न संचालक (एडमिन) हरू बीच एक खास उद्देश्यको साथ एक छलफल कार्यक्रमको आयोजना गरेको थिएँ। त्यस छलफलको मुख्य उद्देश्य लघुकथा लेखनका केही महत्वपूर्ण विषयहरूमा लामो अनुभव भएका लघुकथाकारहरू बीच खास कुराहरूमा सहमती एवं लघुकथाको विकासमा ती संचालकहरू बिच सहकार्य होस् भन्ने थियो।
यसै गरी, संचालकहरू बिच राम्रो समन्वय होस र त्यसले साहित्य (लघुकथा) को विकासमा महत्वपूर्ण योगदान पुगोस् भन्ने पनि थियो। लघुकथा लेखनमा केही मानकहरूको निर्धारण साझा धारणाबाट होस् , सहमतिबाट होस् भन्ने पनि थियो। सोही अनुरुप उक्त छलफलमा लघुकथा लेख्दा ३०० शब्दभित्र रहेर लेखिनुपर्ने, लघुकथा लेखनमा बिज वाक्यको प्रयोग हुनु पर्ने, लघुकथा लेख्दा प्रारम्भ जे कुरा कथामा भनिएको छ कथाको अन्तमा प्रारम्भ भनिएको कुराको विपरित स्थिति हुनुपर्ने, लघुकथा कुनै एक घेराभित्र सीमित भएर नलेखिनु पर्ने, भएता पनि एक मर्यादा भित्र रहेर लेखिनु पर्ने जस्ता विषयहरूमा लघुकथा पानाका संचालकहरू बिच विस्तृत छलफल भएको थियो।
लघुकथाको परिभाषा दिनु पर्दा यहाँले कसरी परिभाषित गर्नुहुन्छ ?
-विद्वानहरूका आ आफ्नै मत होलान् , प्रस्तुति र शैली आ आफ्ना तवरले लेखिएलान् , मेरो बिचारमा लघुकथा उपन्यास वा ठूलो कथाको सारांश जस्तै हो । कम शब्दहरू प्रयोग गरेर धेरै कुराहरू भन्नु लघुकथाको मुख्य रुप हो। लघुकथामा स्थितिको बयान भन्दा पनि घटनाको परिणाम प्रभावकारी किसिमले आउनुपर्छ। लघुकथामा कम भनेर पाठकले धेरै बुझ्ने उद्देश्य लघुकथाकारले राख्नु पर्छ। लघुकथा व्यंग भने होइन। यसलाई व्यंग मात्रै मानेर लेखिनु र त्यस भित्र सीमित पारिनु हुन्न भन्ने मलाई लाग्दछ ।
आफुलाई मन परेका अग्रज तथा समकालीन अनि पछिल्लो पुस्ताका लघुकथाकार र कृतिहरूको नाम लिनु पर्दा?
-मेरो लागि वरिष्ठ र कनिष्ठ भन्ने छैन। मेरो लागि सबैथरी समान हुन र सबै थरीका लघुकथाकारहरूको रचना म पढ्न रुचाउँछु। धेरै लघुकथाकारहरूका कृतिहरू पढेको छु। सबै राम्रा छन् । सबैका आआफ्ना शैली छन्, सन्देश छन् । मौलिकता छन्। सबैमा आ-आफ्नै विषेशता पाइन्छन् ।
हाम्रो लघुकथा पाठशाला बारे यहाँको के धारणा छ ?
– हाम्रो लघुकथा पाठशाला’ ले नेपालमा लघुकथा लेखन, प्रस्तुती एवं पाठकको संख्या विस्तार कार्यमा महत्वपूर्ण कार्य गरेको छ। लघुकथालाई थप लोकप्रिय र पठनीय तुल्याउनमा उल्लेखनीय भूमिका खेलेको छ। यसले गरेका कार्यहरू थुप्रै छन् । ती सबै कार्यहरू यहाँ स्थान अभावको कारण भन्न नसकिने भएकोले छोटकरीमा के भन्छु भने हाम्रो लघुकथा पाठशाला लघुकथा विकासको इतिहासमा एउटा कोषे ढुंगा हुने उद्देश्यका साथ अग्रसर छ, कृयाशील छ। यसका सबै एडमिनहरू सक्रियता एवं असल समन्वयताका साथ लघुकथा विकासका लगि अग्रसर देखिन्छन् ।
लघुकथाको उन्नयनमा थप बिकास गर्न कुनै सुझाव ?
-लघुकथाकारहरूले राम्रो लघुकथा लेख्न धेरै अध्ययन गर्न, स्वदेशी तथा विदेशी समाचारहरू हेर्न, पढ्न तथा सुन्न आवश्यक छ। विभिन्न देशका तथा विश्व राजनीतिवारे जानकारी राख्न आवश्यक छ। यसैगरी अनेक भाषामा लेखिएका पुस्तकहरू पढ्न आवश्यक छ। विभिन्न संस्कृति एवं परिवेशहरूको बारेमा थाहा पाउन आवश्यक छ।
विभिन्न धर्म, चलन, परम्परा आदि बारे जान्न आवश्यकछ। कुनै पनि व्यक्ति एक कशल लघुकथाकार हुन सर्वप्रथम ऊ स्वयं एक अति अध्ययनशील हुन आवश्यक छ। यस्तो भएमा ऊ राम्रो लघुकथाकार हुन सक्छ। अध्यनशील एवं अनुभवी लघुकथाकारहरूका चिन्तन र सोचाइबाट नै राम्रा वा प्रभावकारी अथवा लोकप्रिय लघुकथाहरूको जन्म हुन्छ। प्रभावकारी लघुकथाहरूले लघुकथाको विकासमा महत्वपूर्ण योगदान पुर्याउँछन् ।
र अन्तमा आफ्नो मनमा लागेका कुरा केही थिए कि ?
— प्रत्येक समय आफूलाई शिष्य सम्झिने हो भने धेरै कुरा जान्न सकिन्छ। गुरु सम्झेमा भने गुमाउनु पर्ने हुन्छ। जीवन एक पाठशाला हो र हामी त्यसका विद्यार्थी हौँ । जुनैसुकै उमेरमा पनि सिक्ने काम जारि रहन्छ। ज्ञानको भोक हामीमा निरन्तर रहनु पर्छ।
नेपालमा पठन संस्कृतिको अति नै अभाव छ। एउटा साहित्यकारले नै अर्को साहित्यकारको कृति पढिदिंदैन् । यस्तो स्थितिमा आम पाठकहरूले कुनै कृति पढ्न तत्काल कसरी इच्छा जाहेर गर्लान् ? आफूलाई वरिष्ठ ठान्ने साहित्यकारहरूले नयाँ वा कनिष्ठका रचनाहरू पढिदिदैनन् । चर्चा गरिदिंदैन् । पुरस्कृत पुस्तकहरू मात्र पढिने वा पुरस्कृत हुन नै कृति-उत्कृष्ट हुनुको मानक बन्ने, साहित्यकारहरू बिच नै राम्रो समझदारी नहुने जस्ता अनेक समस्याहरू नेपालको साहित्यको विकासमा तगारोको रुपमा देखिएका छन्।
आफ्नो विचार राख्न दिनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ।
— तपाईं र तपाईंको टिमलाई पनि हार्दिक धन्यवाद