लघुकथा – ब्युँझेपछी !
विष्णु पादुका
कोठामा पस्दा ह्वास्स चुरोटको गन्ध आयो । बेडमा यत्रतत्र कपडा छरिएका थिए । ऊ निरास मुद्रामा थियो । ” किन यस्तो बैरागी भएको मिलन ?” रेसम कोठामा पस्न नपाउँदै सोध्दै थियो ।
” के गर्नु , केही गर्न जाँगर लाग्दैन , उसले ममाथी किन यत्रो घात गरि यार ? मैले के पुर्याएको थिइनँ ? ममा के कमजोरी थियो ? तँ आफै भन्न यार म के गरुँ?” रोएर थाकेको स्वर दयालाग्दो थियो । प्रिय साथिको यो हाल देखेर रेसमलाई भित्र सम्म दुख्यो ।
” उसलाई भेट्नु अघि तँ कहाँ थिइस् , फर्केर हेर त , तँ के खुशी थिइनस् ? वनमा एउटा रुख रोगी हुँदैमा जंगल सकिन्छ ? कति सपनाहरू निदाएकै भए पनि छुटेका हुन्छन् । प्रेम पनि निर्मम हुन्छ । ” हात समात्दै रेसम भावुक भयो । दुई थोपा आँसु आफैले समातेका मिलनमा हातमा खसे । साथी रोएको देखेर मिलन द्रवीभूत भयो । आफ्नो कारण साथी समेत रुनु परेकोमा उसलाई पछुतो लाग्यो । उठेर अँगालो हाल्दै भन्यो , ” हो यार उ सपना देखाएर गई ,मलाई ब्युझाइदिईस् धन्यवाद !”
– कोहलपुर -४ ,बाँके ।