नयाँ गठबन्धनबारे देउवा–प्रचण्ड छलफल, जसपा पनि सकारात्मक

everest kitchen

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको बहिर्गमनका लागि कांग्रेस र माओवादी केन्द्रले नयाँ समीकरणको कसरत सुरु गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार नयाँ सत्तासमीकरणबारे ‘सकारात्मक’ छलफल गरेका छन् ।

भेटमा प्रचण्डले समीकरणको नेतृत्व गर्न देउवालाई प्रस्ताव नै गरेका छन् । तर, कांग्रेस र माओवादी केन्द्रको मात्रै अंकगणितले नयाँ सरकार बन्न नसक्ने अवस्था रहेकाले देउवा र प्रचण्ड दुवैले जसपासँग संवाद अगाडि बढाउने सहमति गरेका छन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिए सरकार अल्पमतमा पर्छ ।

पेरिसडाँडामा पार्टीको स्थायी कमिटी बैठकबाट एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्नुअघि प्रमुख प्रतिपक्ष कांग्रेस र जसपासँग वार्ता गर्ने निर्णय गरेलगत्तै प्रचण्ड भेटका लागि बुढानीलकण्ठस्थित देउवानिवास पुगेका थिए । देउवा र प्रचण्डबीच अपराह्न ४ बजेपछि करिब आधा घन्टा ‘वान टु वान’ छलफल भएको थियो ।

छलफलपछि प्रधानमन्त्री ओलीको बहिर्गमन गर्दै संविधान कार्यान्वयनका बाँकी कार्य गर्ने सम्बन्धमा गठबन्धनको सरकार बनाउन देउवा र प्रचण्ड सहमत भएका छन् । भेटमा जसपासहित गठबन्धन गर्दा संसद्मा हुने अंकगणितका विषयमा समेत छलफल भएको छ । ‘जसपाभित्र विभाजनको कुरा आएको छ, त्यसले संसद्मा पार्ने प्रभाव र सहकार्यका विषयमा थप छलफल गर्ने गरेर अघि बढ्ने कुराकानी भएको छ,’ देउवानिकट एक नेताले भने ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले देउवा र प्रचण्डबीच अहिलेको तरल राजनीतिक अवस्थाका विषयमा छलफल भएको जानकारी दिए । ‘यो स्वाभाविक भेटघाट हो, दुई पार्टीका नेताहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल हुनु स्वाभाविक हो, तर भेटमा कुनै प्रस्ताव वा समझदारी भएको छैन,’ प्रवक्ता शर्माले भने ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रचण्ड र देउवाबीच सकारात्मक संवाद भएको र निष्कर्षमा पुग्न अझै बाँकी रहेको बताए । ‘कांग्रेस सभापति शेरबहादुर देउवासँग सकारात्मक कुराकानी भएको छ । संविधान र लोकतन्त्रको रक्षाका लागि सहकार्य गर्ने सहमति बनेको छ । आजै जसपाका संघीय परिषद् अध्यक्ष अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवसँग पनि प्रचण्डले छलफल गर्नुभएको छ । भोलि (बुधबार) जसपाकै अध्यक्ष महन्थ ठाकुरसँग पनि भेट्ने कार्यतालिका छ,’ शर्माले भने, ‘जसपासँग बुधबार भेट भएपछि कांग्रेससँग थप सहकार्यबारे एउटा निर्णय हुन्छ ।’

जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रचण्डसँग नयाँ समीकरणबारे छलफल भएको, तर कुनै सहमति नभएको बताए । ‘शेरबहादुरजीलाई भेटेर प्रचण्ड मकहाँ आउनुभएको रहेछ । उहाँसँगको भेटमा मुख्यतः अब केपी ओली नै यो प्रतिगमनका मुख्य बाधक हुन् । उनलाई बिदा गर्न कांग्रेस, माओवादी र जसपा गठबन्धन गरेर जानुपर्छ भन्नेबारे सामान्य कुराकानी भयो । खासमा उहाँ मेरो स्वास्थ्यबारे बुझ्न आउनुभएको हो,’ डा.भट्टराईले भने ।

डा.भट्टराईले कांग्रेस, माओवादी केन्द्र र जसपाबीच समीकरणको सम्भावना रहेको दाबी गरे । उनले थपे, ‘यद्यपि नेकपाको एकता भंग भइसकेपछि प्रधानमन्त्रीको पार्टी अल्पमतमा परिसकेको छ । अब वैधानिक हिसाबले पनि नयाँ सरकार स्वाभाविक बन्छ । ओली रहेसम्म राज्यसत्ताको दुरुपयोग गरेर वितण्डा मच्चाइरहने खतरा रहन्छ, त्यसैले उनलाई बिदा गर्नेमा छिटोभन्दा छिटो एउटा समझदारी गरेर जानुपर्छ । तर, अहिले नै समझदारी बनिसकेको छैन । तर, बन्ने सम्भावनाचाहिँ छ ।’

स्रोतका अनुसार सर्वोच्च अदालतले नेकपाको एकता भंग हुने गरी फैसला गरेलगत्तै देउवाले नयाँ गठबन्धनका लागि दोस्रो तहका नेता परिचालन गरेका थिए । संसद्मा दोस्रो, तेस्रो र चौथो शक्तिका रूपमा रहेका दलहरूबीच गठबन्धन गरेर सरकार बनाउने विषयमा माओवादी केन्द्रले चासो देखाएपछि देउवा उत्साहित छन्  नयाँ पत्रिकामा खबर छापिएको छ ।