सेनादिवसमा सबुज गणद्वारा सल्यानमा दौड प्रतियोगिता

everest kitchen

 

सल्यान । महाशिवरात्रि एवं सेना दिवसका अवसरमा सल्यान जिल्लामा तैनाथ सबुज गणले बिहीबार पाँच किमी दूरीको दौड प्रतियोगिता आयोजना गरेको छ । चारवटा उमेर समूह महिला र पुरुषका लागि बेग्ला बेग्लैरूपमा आयोजना गरिएको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकलाई नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरियो ।

नेपाली सेनाका १९ नं बाहिनीपति सहायकरथी मदनकुमार केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागार्इँ, शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी, बाघचठौर नगरपालिका प्रमुख लोकमान बुढाथोकी र गणपति कञ्चनकृष्ण बस्नेतले विजयी धावकलाई नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा ५० वर्षभन्दा माथि, ५० वर्ष तल, १८ वर्षमुनि समूह र सुरक्षाकर्मीको बेग्लाबेग्लै समूह बनाएर दौड आयोजना गरिएको थियो ।

‘सल्यान रन फर फन’ नाम दिएर जिल्लामा पहिलोपटक अयोजना गरिएकोे उक्त प्रतियोगितामा करिब ७०० व्यक्ति सहभागी थिए । यस्ता प्रतियोगिता सैनिक–नागरिक सम्बन्ध सुधारमा कोसेढुङ्गा सावित हुने सेनाले विश्वास लिएको छ ।

यसअघि पनि उक्त गणले स्थापनाको २५८औँ वार्षिकोत्सवका अवसरमा गौरीखर्क प्राथमिक विद्यालयका छात्रछात्रालाई स्टेशनरी सामान वितरण गरेको थियो । बालिबालिकालाई विद्यालयमा निरन्तर जान प्रेरित गर्ने उद्देश्यले उक्त सामग्री वितरण गरिएको बताइएको छ ।