सर्वोच्चको फैसलासंगै देशमा कुनै अनिष्ट हुँदैछ कि भन्ने आशंका उब्जाएको छ : दाहाल

everest kitchen

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा खारेज गरी एमाले र माओवादी केन्द्रलाई ब्युँताउने सर्वोच्च अदालतको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई आज बुटवलमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले ‘जन्मिएको बच्चालाई फेरि आमाको गर्भमा पुर्‍याइदिने परिघटनाले देशमा कुनै अनिष्ट हुँदैछ कि भन्ने आशंका उब्जाएको बताएका छन् ।

पछिल्लो समय देशमा परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र भएको जनाउँदै उनले यसका विरुद्ध सङ्घर्ष गरिने बताए । “मैले फेरि विद्रोहमा जाने कुरा गरेको होइन तर पाएको उपलब्धि कसैले कुल्चिन नपाओस् भन्नाका लागि शान्तिपूर्ण रङ्गीन क्रान्ति आवश्यक छ ।” नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र आफूले संयुक्त रूपमा जारी गरेको बाह्रबुँदे सहमतिका आधारमा आएको संविधानको हत्या गर्न खोज्नेलाई शान्तिपूर्ण क्रान्तिबाट पाखा लगाइने जनाउँदै अध्यक्ष दाहालले सबैलाई एकजुट हुन आह्वान गरे ।
अध्यक्ष दाहालले शान्तिपूर्ण आन्दोलनका लागि तयार रहन दलित समुदायलाई आग्रहसमेत गरेका थिए । “दलितको साथ नभएको भए आन्दोलन सफल हुने थिएन,’ उहाँले भन्नुभयो,“ त्यसैले अब पुनः प्रतिगमनतिर लैजान खोज्नेविरुद्ध दलित समुदायको एकता आवश्यक पर्नेछ ।