विदेशमा कोभिड–१९ सङ्क्रमणबाट निधन हुने नेपालीको सङ्ख्या शून्य

everest kitchen

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या शून्यमा झरेको छ । पछिल्लो छ सातायता पहिलो पटक विदेशमा सङ्क्रमणका कारण हुने मृत्यु शून्य भएको हो ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार गत वर्षदेखि विश्वव्यापीरुपमा फैलियो कोरोना भाइरस सङ्क्रमणका कारण गत सातासम्ममा २१ देशमा रहेका ३४१ नेपालीको निधन भएको थियो ।

गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता कोरोना सङ्क्रमण दरमा समेत उल्लेख्यरुपमा कमी आएको छ । यस साता स्वीडेन, स्पेन, केन्या, युएइमा रहेका थप नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ ।

उनका अनुसार हालसम्म ५३ देशमा ६३ हजार ३०७ नेपालीमा कोरोना पुष्टि भएको छ । तीमध्ये ६१ हजार २३७ सङ्क्रमण मुक्त भएका छन् । कोरोनाका कारण नेपालमा तीन हजार १४ जनाको निधन भएको छ ।

नेपालमा कोरोनाबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७५ हजार १७८ जना भने दुई लाख ७१ हजार २४९ कोरोनाबाट मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत छ ।