अनुमति लिएर मात्रै मदिरा उत्पादन र सेवन गर्नुपर्ने

everest kitchen

 

काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले यहाँका नागरिकलाई मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।

‘मदिरा नियमन तथा व्यवस्थापन ऐन २०७७’ अनुसार नागरपालिकाले मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । नगर क्षेत्रभित्र सदाचार, स्वास्थ्य, सुविधा तथा आर्थिक हित कायम राख्दै सभ्य, शान्त र सकारात्मक बाटोमा समुदायलाई अग्रसर गराउन तथा घरेलु हिंसा न्यूनीकरणका लागि नगरपालिका क्षेत्रभित्र मदिरा उत्पादन, बिक्री वितरण र सेवन कार्यको नियमन तथा व्यवस्थापन गर्न यस्तो व्यवस्था लागू गरिएको नगरपालिकाले जनाएको छ ।

मदिरा उत्पादन, बिक्री वितरण र सेवनका लागि अनुमति लिनुपर्ने तथा मदिरा सेवनकर्ताले वार्षिक शुल्क तिरेर ‘सेवन कार्ड’ लिनुपर्ने व्यवस्था नगरपालिकाले गरेको छ । सो ऐनले १८ वर्षको उमेर पूरा नगरेका व्यक्तिले मदिरा बिक्री वितरण गर्न नपाउने व्यवस्था गरेको छ । ऐन विपरित मदिरा सेवन गरी समुदायमा होहल्ला, शान्ति भङ्ग हुने क्रियाकलाप वा झै–झगडा गर्ने व्यक्तिलाई पहिलो पटकका लागि रु ५०० जरिवाना तथा सोही व्यक्तिले पटक पटक सो प्रक्रिया दोहो¥याएमा २० प्रतिशतका दरले जरिवाना बढ्दै जाने प्रावधान रहेको छ ।

एउटा वडामा एक वटा थोक मदिरा पसल र पाँच वटा ओसारपसार मदिरा पसलका लागि मात्र अनुमति दिने ऐनमा उल्लेख छ ।