“बालुवाटार”

everest kitchen

स्वप्निल स्मृति

यस्तो ‘पिकनिक स्पट’ हो बालुवाटार
मानौं,मेरो देशको नक्साभित्र पर्दैन त्यो।

सारा मानिस भोका छन्
तर भोज अहोरात्र चलिरहेछ बालुवाटारमा
जहाँ एक दाना अनाज उब्जँदैन
फगत् ! खेती हुन्छ झुठको
जहाँ एक थुँगा फूल फक्रँदैन
फगत् ! मौलाउँछ नीलकाँडा षड्यन्त्रको
तर त्यहाँ ढल्काएर फूलमाला
सरकार चाटिरहेछ सत्ताको गुलियो।

आगलागी भइरहेछ मानिसका मन-मनमा
भागदौड मच्चिरहेछ सारा गाउँसहरमा
मानौँ, बालुवाटार विश्वको मानचित्रमै पर्दैन
जहाँ चलिरहेछ निरन्तर नाचगान
मादक डढेलो उठिरहेछ मनोरञ्जनको
जुद्ध बारुण यन्त्र लगातार निभाइरहेछ
विदेशी रक्सी सल्किएको मन्त्रीहरूका टाउको
‘कक्टेल’मा मदहोस प्रधानमन्त्री
र्‍याप हानिरहेछ ‘शान्ति ! शान्ति !’

हुरी हुन्हुनाइरहेछ भूगोलका कुना-कुना
चारैतिर मडारिइरहेछ रुखपात, बुट्यानहरू
बालुवाटारको आकाशै छोपिनेगरी
भुँवरी उठिरहेछ प्रत्येक बार्‍हबजे
सरकार पछारिइरहेछ बालुवामा हरूवा गोरुझैं डुङ्डङ्ती
तर सरकार…
सरकार बालुवामुनि हतियार लुकाएर
लड्ड् खाइरहेछ लोकतन्त्रको…

यस्तो ‘पिकनिक स्पट’ हो बालुवाटार
मानौं, तिम्रो देशको नक्साभित्र पनि पर्दैन त्यो ।