बाल लघुकथा – पुतलीको बिहे
कोषवल्लभ रेग्मी
आज पुतली सधैं भन्दा चाँडै उठी।ऊ सरासर भान्सामा गई र आमालाई भनी-“आमा मेरो बेउली खोइ?” “ऐले किन चाहियो ? ऊ त्यहाँ राखिदिएकी छु लैजा।”-आमाले खोपीमा राखेको पुतली देखाइदिनु भयो।
“आज के आमा यसको बिहे गर्ने!”-ऊ कपडाको टालोबाट बनेको बेउली बोकेर उफ्रदै बाहिर दौडिई।उसले के सोची कुन्नि दगुर्दै पल्लो,माथ्लो ,तल्लो घरहरु चहारी र आफू समकालीन दौंतरी भेला गरि।
“म सँग बेउली छ।एउटा बेउला ब’ना त बले!”-उसले बेउलीको साडी मिलाउँदै साथीलाई भनी। बले र अरु मिलेर बेउला बनाए तर पुतलीको चित्त बुझेन।ऊ फेरि दौडेर आफ्नै आमा सँग आई-“आमा बेउला पनि बनाई दिनु न।बलेले जानेन।” “यसले पनि केके गर्नु पर्या होला!”-आमा झर्केर बोल्नुभयो।
“नाई के बनाई दिनु न!”-ऊ रुन थाली । बालकको हठदेखि भगवान् काबु हुन्छन् भन्छन्।पुतलीको जिद्दीको सामु आमाको केही लागेन।आमाले जानिनजानी टालाहरुको मिश्रणबाट बेउलाको रुप बानाएर पुतलीलाई दिनुभयो।
“आहा!अब बिहे हुन्छ !”-ऊ रमाउँदै गई र बेउलीको नजिकै बसाली।बलेले नरहिंगा बजाएझैं-“थुरी थु….!”पार्यो।सेती , गोफ्ले र अरु साथीहरूले बाजा बजाएझैँ गरे।पुतलीले केके मुख चलाउँदै माटोको टीका बनाएर बेउला,बेउलीलाई लगाई दिई।भोगटेको पातमा माटोबाटै बनेको खाना पस्केर बेउला,बेउली र सबैले मिलेर खाए जस्तो गरे।अनि उनीहरूले बेउला र बेउलीलाई एउटै ओछ्यान बनाएर सुताए।लाग्छ आज एउटा बिहेनै सम्पन्न भयो।
उसलाई फेरि के मन आयो, दौडेर आमा भए ठाउँमा पुगी र-“आमा आमा ! बलेसँग मेरो पनि बिहे गरिदिनु न हुन्न आमा ?”-भन्दै कपाल कन्याउन थाली । पुतलीले यसो भन्दै गर्दा बले पनि उसको नजिकै उभिएर मुसुमुसु हाँसिरहेको थियो।