स्वास्थ्य सामग्री लिन निगमको जहाज बेइजिङ जाने

everest kitchen

काठमाडौँ । सरकारको निर्णयानुरुप सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) चीनको राजधानी बेइजिङ जाने भएको छ ।

कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी ए ३३० जहाजले चीनको ‘बेजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थल’मा यही चैत १५ गते उडान भर्ने भएको हो ।

यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । सो सरकारी निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरुप आठ लाख मात्र कोभिडविरुद्धको खोपलगायत सहायता सामग्री लिन निगमको जहाज बेइजिङ जाने तयारी भएको जनाइएको छ ।