सिद्ध पोखरीको चहलपहल र आकर्षण

everest kitchen

विपेन उलंगे
भक्तपुर। भक्तपुरको दुध्पाटी स्थित सिद्ध पोखरीमा आजभोलि आन्तरिक पर्यटकको चहलपहल बढेको छ। यस पोखरीमा नगरपालिकाले प्यालास्टिकद्वारा निर्मित पैदल डुंगा राखेपछि सिद्ध पोखरी घुम्न आउनेहरु पनि बढेका हुन्।

कोरोना प्रकोपले चहल पहल घटेपनि अहिले बिस्तारै पर्यटकहरु बढ्न लागेको नगरपालिकाले बताएको छ । पोखरीमा रहेका पैदल डुंगा चढ्नेले प्रत्येक व्यक्ति एक सय रुपैंया तिरेर पोखरी भरि डुंगाको सयर गर्न सक्छन।

१५ औँ शताब्दीमा राजा यक्ष मल्लले यस पोखरीको निर्माण गराएका थिए । भक्तपुर शहरको पश्चिम अर्थात दुधपाटीमा अवस्थित सिद्ध पोखरीको प्रथम जिर्णोद्धार विक्रम संवत् १८२१ सालमा भीमसेन थापाबाट भएको १९३६ को शिलापत्रमा उल्लेख भएको पाइन्छ ।

त्यस्तै वि.सं. १९३५ सालमा रणोद्दीप सिंहबाट उक्त तलाउको पर्खाललगायत घाँसहरू सफा गरिएको उक्त शिलालेखमा उल्लेख छ। त्यसपछि राणा प्रधानमन्त्री चन्द्रशमशेर र वि. सं. २०१५ सालमा राजा महेन्द्रले पनि सो पोखरीको जीर्णोद्धारा गराएको इतिहासमा उल्लिखित छ । पछिल्लो पटक २०५२ सालमा जिर्णोद्धार गरिएको यस पोखरी भक्तपुर नगरपालिकाको प्रत्यक्ष निगरानीमा रहँदै आएको छ।

आयतकार आकारमा रहेको पोखरी १ सय ५८ मिटर लम्बाइ, ७२ मिटर चौडाइ र ४ मिटर गहिराइ छ । यस पोखरीलाइ इन्द्र दह समेत भनिन्छ। जहाँ इन्द्रजात्राको भोलीपल्ट मेला लाग्ने गर्दछ । पोखरीको चारैतिर परम्परागत रुपमै पर्खालले घेरिएको छ। सिद्धपोखरीमा नुहाउन, लुगा, धुन, पशु चौपाया पसाउन र माछा मार्न निषेध छ।