लघुकथाः सक्कली मुहारमा नक्कली छाप
मनीष कुमार शर्मा ‘समित’
“मलाई ओरिजिनल (सक्कली) क्रिम दिनुन ?” पसले पुलक्क हेर्यो नयाँ ग्राहकलाई । गाउँले परिवेशको मुहारलाई आधुनिक पहिरनले ढाकेकी, कता कता नमिल्दो थियो । उसले ओरिजिनल क्रिम निकालेर दियो र उल्लेखित रकम लियो ।
केहि दिन पछि ती युवती फेरी आईन् । यो पटक मुहारमा आवेग झल्किएको थियो । पसले सामान लिन बहिर गएको थियो । उसको स्थानमा उसको श्रीमती पसलमा थिइन् ।
“तपाईहरूले कस्तो सामान दिनु भएको । हेर्नुस् त मेरो अनुहार सबै पोतो र डण्डीफोर आयो ।“ झर्कदै उनले भनिन् । पसले सहुनीले फिर्ता गरेको क्रिम ओल्ट्या पल्ट्याई हेरिन् । सामन ओरिजिनल (सक्कली) नै थियो ।
“ओहो! तपाईले डुप्लिकेट(नक्कली) लानु भएछ नि । ल लिनुस यो क्रिम यो चाहिँ सक्कली हो । तर यसको दाम अलि महँगो छ । पहिलाको भन्दा दुई गुणा ।“ पसले सहुनीले डुप्लिकेट (नक्कली) क्रिम निकाल्दै त्यसको बखान गर्न थालिन् । युवती पनि डुप्लिकेट (नक्कली) क्रिम प्रति प्रभवित भइन् । रकम चुक्ता गरि सामान लिएर गइन्। यो सबै कुरा भर्खरै छिरेको पसले साहुले नियालीरहेको थियो । श्रीमतीले लोग्नेलाई हेर्दै मुस्कुराइन् । उनको मस्कानले अर्थाउदै थियो – “ब्रोइलर ज्यानलाई सक्कली सामान कहाँ पच्छ र ?”
ठिमी, भक्तपुर ।