एमालेको एकता नटुटाउन राष्ट्रपति भण्डारीको खनाललाइ सुझाव

everest kitchen

काठमाडौं । नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ नेता झलनाथ खनाललाई पार्टी एकता जोगाउन आग्रह गरेकी छन् । शनिबार नेता खनालको निवास डल्लुमा राष्ट्रपति भण्डारी र खनालबीच करिव एक घण्टासम्म भएको भेटवार्तामा उनले यस्तो आग्रह गरेकी हुन् ।

भेटवार्तामा राष्ट्रपति भण्डारीले नेता खनालको स्वास्थ्य अवस्थाबारे चासो राख्दै नेकपा एमालेभित्र देखिएको विवादबारे चिन्ता प्रकट गरेकी थिइन् । ‘लोकतन्त्र बलियो बनाउन पार्टीहरू पनि बलियो हुनुपर्छ । सबै पार्टी बलिया भएमात्रै लोकतन्त्र जोगिन्छ । एकीकृत पार्टी पनि नटुटोस्, सकेसम्म मिलेर जानुस्’, खनाललाई राष्ट्रपति भण्डारीको आग्रह छ ।

भेटपछि नेता खनालले राष्ट्रपति भण्डारी आफ्नो निवासमा आएर समसामयिक विषयमा कुराकानी गरेको जानकारी दिए । भेटमा नेता खनालले आफ्नो स्वास्थ्य सामान्य नै रहेको भन्दै आफ्नो स्वास्थ्य भन्दा देशको बढी चिन्ता रहेको राष्ट्रपतिलाई जानकारी गराएका थिए ।