राइस कुकर भित्र सुन लुकाएर ल्याउने एकजना पक्राउ

everest kitchen

काठमाडौं। काठमाडौं महानगरपालिका-८ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट करिब ८८४.४५० ग्राम सुन जस्तो देखिने पहेँलो धातु र करिब ४९.५५ ग्राम सुन जस्तो देखिने बाला १ थान सहित धनुषा घर भएको ३४ वर्षीय प्रकाश महरालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनले ल्याएको सामानहरूको तौल बढी देखिएपछि जाँच गरेको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए। ‘उनले ल्याएको राइस कुकरको तौल जाँच्दा बढी देखायो। पटक-पटक चेक गर्दा पनि तौल बढी भएपछि हामीले खोलेर हेर्‍यौं,’ उनले भने,’कुकरको भित्र सुन राखिएको रहेछ।’

फ्लाई दुवई एयरलाईन्सको उडानद्वारा दुवईबाट काठमाडौं आएका उनलाई अराईभल भन्सार एरियामा जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको उक्त परिमाणको धातु र बाला सहित फेला पारी प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीका आनुसार यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।