लघुकथा – पालो
मन्जु ज्ञवाली
निरास र हतास मनस्थिति लिएर बाहिर पालो पर्खेर बसेको म कर्कस स्वरमा नर्सले बोलाएपछि म झस्केँ । हामी भित्र छिर्यौँ । शिरदेखि पाऊसम्म नियाल्दै डाक्टरले भने , “बस्नुस् ! ” बसेँ । छोरो छेवैको कुर्चीमा बस्यो । “के भयो ? भन्नुस् ! ”डाक्टरले सोधे । “डाक्टर साप खै के भयो भयो ? रिँगटा मात्र लागिरहन्छ । ” मैले मेरो समस्या राखेँ ।
डाक्टरले ढाडमा छामछुम गरे । आँखा च्यातेर हेरे , प्रेसर नाप्दै सोधे , “ घर कहाँ हो ? के काम गर्नुहुन्छ ? ”
मैले मेरो पेशा र पारिवारिक फेहरिस्त बताएँ । उनले कागजमा केही लेखे र दिँदै भने , “यहाँ लेखेजतिका सबै टेस्टहरु गराउनुस् र भोलि आउँदा सबै रिपोर्ट लिएर आउनु । “…डाक्टर साप ……यति धेरै टेस्ट .. गराउनै पर्छ र… ? ” छोराले सोध्यो ।
“ डाक्टर तपाइँ कि म ? नपर्ने भए किन डाक्टरकाँ आको त ? ”- उनी कड्किए। “ तर… डाक्टर सबै रिपोर्ट यत्ति छिट्टै …………….! ” छोरो बोल्दाबोल्दै रोकियो । “ धन्दा मान्नु पर्दैन । यहीँ भित्रै गराए भोलि नै रिपार्ट आउँछ । ” डाक्टरले सिफारिस गरे । भोलिपल्ट डाक्टरलाई सबै रिपोर्ट देखाइयो । डाक्टरले गम्भीर भावमा बोले , “ तपाईँको ब्रेनमा सानो ट्युमर रहेछ । अप्रेसन गर्नुपर्छ । नगरे कुनैपनि बेला प्यारालासिस् हुने डर छ । ” मेरो हंसले ठाउँ छोड्यो । मेरो हतास मनस्थिति बुझेर डाक्टरले भने , “ आत्तिनु पर्दैन । सानो अप्रेसन हो । १५ दिनमै ठिक हुन्छ ।
सम्झिँए । ‘डाँडाकटेरी साइँलाले पनि त अप्रेसन गरेपछि सन्चो भाको । के होला र ?’ मैले आफैलाई सम्झाएँ । बाबुछोरा सल्लाह गर्यौँ र अर्को हप्ता नै अप्रेसन गर्ने निधो भयो । म भर्ना भएँ । अप्रेसन भयो । डाक्टरले ढोकाबाटै परिवारजनलाई खबर गरे , “ अप्रेसन सफल भयो ” । घरमा बुढीलाई खबर गर्यो छोराले । आफन्त पनि सबै खुसी भए ।
सपना हो कि ? विपना जस्तो । घरि बुढीले ‘लौनु चिया खानु ’ भनेँ झैँ लाग्छ । घरी ‘दाइ दाइ ’ बोलाएझैँ लाग्छ ।
‘जाडो भयो ’ भन्न खोज्छु कसैले सुन्दैनन् । बेस्सरी खोकी लाग्यो । टाउको फुटेर गीदि बाहिर निस्केला जस्तो भयो । मलाई स्वास फेर्न गाह्रो भो । बल गरि गरि फोक्सोमा स्वास भर्न संघर्ष गरिरहेँ ।
डाक्टर आए र भने ,“ यो पेसेन्टको आँखाले रेस्पोन्स गरेको छैन । तुरुन्त सि टी गर्नु !” मेरो उपचार प्रक्रिया फेरि दोहोरियो । म हलचल गर्न नसक्ने भएँ । मुढो लडे झैँ । मेरो मुटु चलिरहेकै थियो । डाक्टर आए। अक्सिजन मास्क निकालिदिँदै भने “अर्को पेसेन्ट वेटिँगमा छ । यीनको कुरुवालाई बडी बुझ्न आऊ भन्देऊ । ” म मूर्दा राख्ने बेडमा सारिएँ “अहो ! नमर्दै म मृत्युशैयामा ! ” बोल्न खोज्छु तर सक्दिनँ । मैले म मरेको छैन ! भन्न सकिनँ । म लाचार भएँ । फनफनी घुमे मेरा यादहरु । पेन्सन …..एकमहिना मात्र थियो । लेनदेनका कुरा .. । कान्छाको विहे । बुढीको तराइ झर्ने रहर उफ् !
म भित्र भित्रै निस्सासिएँ , आत्तिएँ । म मरेको छैन भनी चिच्याएँ । तर मेरो आवाज उनीहरुसम्म पुगेन । आँखा विस्तारै खोलेँ । आँखा अलिकति घुमाएर छेवैको बेडमा हेरेँ । उसले पनि खलाँती मारिरहेको थियो । सायद अब मर्ने पालो उसको थियो ।
समाप्त