अब २५ जनाभन्दा बढी मानिस भेला नहुन नपाइने

everest kitchen

काठमाडौं। कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ। संक्रमितहरूमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले मन्त्रालयले २५ जनाभन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषदसमक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता गौतमले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको बताए।

‘अहिले जुन भीडभाड भइरहेको छ कति ठाउँमा, अब त्यो भीडभाड पूरै बन्द गर्नुपर्छ। एकदमै जनस्वास्थ्यका मापदण्ड अपनाएर २५ जनाभन्दा कम मान्छे दूरी कायम गरेर भेला हुन सकिन्छ।’ प्रवक्ता गौतमले भने, ‘त्यो पनि अब कति दिनपछि नगर्नुस् भन्नुपर्ने अवस्था आउन सक्छ। जस्तो स्कुल, कलेज, सिनेमा हल पार्टी प्यालेस, भेला, जुलुस, भीडभाड, ठूलाठूला भेला सबै बन्द गर्नुपर्छ भनेर हामीले भनेका छौं। ’