युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा

everest kitchen

एजेन्सी। संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ । दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मक्तोमले ट्वीटर मार्फत दुई अन्तरिक्ष यात्रीको नाम घोषणा गरेका हुन् ।

घोषणा गरिएका नामहरुमा नोउरा अल–माट्रोसी महिला हुनुहुन्छ भने मोहम्मद अल–मुल्ला पुरुष हुन् । सन् १९९३ मा जन्मिएकी अल–माट्रोसी अबुधाबीस्थित नेसनल पेट्रोलियम कन्स्ट्रक्सन कम्पनीमा इन्जिनियर पदमा कार्यरत छन् ।

युएईका चार हजारभन्दा बढी आवेदकबाट दुई जना छनौट गरिएको अधिकारीहरुले बताएका छन् । उनिहरु दुबैलाई अमेरिकाको टेक्सासस्थित नासाको जोन्सन स्पेस सेन्टरमा तालिम लिन पठाइने छ । यदि अल–माट्रोसी अन्तरिक्ष अभियानमा सफल भएमा उनि अन्तरिक्ष पुग्ने पहिलो अरबी महिला हुनेछिन ।

यसअघि इरानी–अमेरिकी महिला अनुशेह रैसायानले झण्डै २ करोड डलर तिरेर पर्यटकको रुपमा सन् २००६ मा अन्तरिक्ष यात्रा गरेकी थिइन् ।