लघुकथा – त्यो बाह्रौं दिन
प्रेम कमल सुनार
कोरोना अातङ्कको चपेटामा परेको सिङ्गो विश्व समस्याको भुँमरीमा फसेको थियो ।।अझै कति लम्बिने हो निश्चित नै थिएन ।उसले मनमनै सोच्यो , “अब त खाने कुरा पनि सकियो । दमको रोगी अामा र अपाङ्ग बैनीलाई के खान दिनु ? रोगलेभन्दा भोकले पो मरिने भैयो । ´´
मध्यरात थियो । ऊ निदाउन सकेन । कोल्टे फेर्यो । छेवैको ओछ्यानमा बैनी र आमा सुतिरहेका थिए । बीचबीचमा आमा लाई स्वाश फेर्न गाह्रो भएको महसुश गर्यो , उसले । अनि ऊ बिस्तारै उठ्यो ,झ्यालबाट बाहिर नियाल्यो , चराचुरुंगीहरुको चक चकाहट सुनिन्थ्यो तर आकाशमा ताराहरु टिम टिमाइ रहेका थिए ।अनुमान गर्यो , बिहानको प्रहर हो । उस्लाई भने अाज पनि निस्किन पाइएन भने अामाको दवाई के गर्ने ? भन्ने चिन्ताले सतायो । सम्झियो , हिजो काममा निस्किँदा पुलिसले लाठीले खेदेर पिटेको , अहिलेसम्म शरीर थिलथिल छ । बसीखानेलाई पो लकडाउन मज्जा , हामी गरीब ज्याला मजुदुरलाई त सास्ती , सरकारले किन नबुझेको हो ?
पुलिसको डरलाई मनमा बोकेर ऊ बिहानै काम खोज्न निस्कियो । एउटाको मकै बारी जोत्यो ,मकै छरिदियो अनि पारिश्रमिक लियो । बेलुका नजिकैको पसलमा गएर खानेकुरा र दवाई किन्यो । घर पुग्यो । दाइ देखेर बैनीले अामालाई भनिन् , “आमा , आमा दाइ आउनुभयो ,राधाले खुशी हुँदै आमालाई उठाइन् ,ए ……..बाबु आयो ? मेरो दिपक आयो ? दि.प.क.कमजोर आवाजले दिपकलाई पुकारिन् । दबाई ख्वाएर ऊ बेलकाको भान्सा तयार गर्न चुलोतिर लाग्यो ।
परबाट एउटा पुलिसको भ्यान माइकिङ्ग गर्दै आइरहेको थियो ,खबरदार …. बाहिर ननिस्कनु होला । लकडाउनको उल्लङ्घन गर्यो भने कडाभन्दा कडा सजाय हुनेछ ।´´