लेखा समितिबाट पूर्वमन्त्री गोकुल बास्कोटालाई फिर्ता गर्न माग

everest kitchen

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले संसदको सार्वजनिक लेखा समितिबाट पूर्वमन्त्री गोकुल बास्कोटालाई फिर्ता गर्न माग गरेको छ । ट्रान्सपरेन्सी शुक्रबार एक सुचना जारि गर्दै बिरोध जनाएको हो।

सेक्युरिटी प्रेस खरिदको कमिसन लेनदेनको अडियो प्रकरणमा मुछिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटालाई लेखा समितिमा पठाउनु सुशासनविरुद्धको कदम भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ ।

‘सेक्युरिटी प्रेस खरिद प्रकरणमा मन्त्रीको हैसियतमा बाँस्कोटाले ७० करोड रुपैयाँ घूस मागेको ‘अडियो टेप’ सम्बन्धी प्रकरणको छिनोफानो भइसकेको छैन । लेखा समितिले सेक्युरिटी खरिद प्रक्रिया र अडियो टेपका विषयमा थप छानबिन गरी भ्रष्टाचार मुद्दा लगाउन २०७६ फागुन ३० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई फाइल पठाएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘लेखा समितिले छानबिन गरी मुद्दा नचलाएको विषयमा आयोगसँग जानकारी मागिरहेको अवस्था छ । बाँस्कोटालाई लेखा समितिकै सदस्य बनाएपछि यो प्रकरणमा पदीय प्रभाव पर्ने निश्चित भएकाले बाँस्कोटालाई लेखा समितिमा पठाइनु सर्वथा अनुचित छ ।’

मुलुककै ठूलो र जिम्मेवार सत्तारुढ पार्टीले आरोपित व्यक्तिलाई लेखा समितिमा पठाउने कार्य सुशासन विरुद्ध भएको हुँदा त्यो निर्णय तत्काल फिर्ता लिन पनि ट्रान्सपरेन्सीले जोडदार माग गरेको छ ।