लघुकथा -जनताको अदालत
इन्दिरा गौतम
अदालतको मूलढोका बाहिर हजारौं जनताहरू दोषीलाई दण्ड र न्याय मागको ध्वनिले आकाश थर्काइ रहेका थिए । सारा गाउँ नै गौरीलाई न्याय दिलाउन उर्लेर आएको थियो। मानिसमा डर,त्रास, शङ्का र कौतुहल थियो। स्वर्णिम धराको उपहार, हिजोसम्मको दिव्य चेहरा आज घिनलाग्ने भएको छ उसको अस्मितामाथि उठेका प्रश्नले ।
वफादार पत्रकारहरूले घटनालाई पत्रिकाको मुख्य पृष्ठमा राखेका थिए। उता खुब चिच्याई चिच्याई पत्रिका बेच्नेले आफ्नो बिक्री बढाउने कोसिसमा थियो । आजको तात्तातो खबर……… ” अस्मिता माथि प्रश्न चिन्ह……. , अदालतमा गौरीले मागिन् गुहार ” ।
राजनैतिक नेतृत्वको प्रत्येक अनुहारमा त्रासका रेखाहरू छर्लङ्ग देखिन्थ्यो। बिरोधी नेताले आउने दिनको चुनावको लागि गौरीलाई हतियार बनायो। घटनालाई दुर्घटनामा परिणत गराउने षडयन्त्र चल्यो ।
अझै अपराधी माथि कुनै कारवाही भएन । गौरीले फेरि न्यायको भीख माग्दै अदालतको ढोका खटखटाइन् । वकिलका प्रश्न माथि प्रश्न। किन ? कहाँ ? कसरी ? कतिबेला? कतिजना ? यस्ता प्रश्नका उत्तर दिँदा दिँदै ऊ थाकिसकी । उता, आँखा अगाडी यथावत् दृश्यहरू दोहोरिन थाले। दोषीका पक्षधर गौरीमाथि अदालतको न्यायको अन्तिमसम्मको रमिता हेर्न तल्लिन थिए। आफूलाई सम्हालिन गाह्रो भएको थियो। तर ऊ विवश थी। वकिल अपराधीलाई निर्दोष सावित गर्न व्यस्त थियो । वकिलका प्रश्नमाथि प्रश्न। फेरि प्रश्न :- ” तिमीलाई त्यो बेला कस्तो लागिरहेको थियो ? ”
गौरीलाई त्यो बेला आत्मग्लानि र नारी अस्मिताको धुजा धुजा पार्ने पुरुषहरूको ब्वाँसो प्रवृत्ति देखेर धैर्यको डोरी चुँडियो। कठोर बन्दै प्रतिप्रश्न गर्ने साहस गरिन् ” एउटी नारी , जस्तै ……तिम्री आमा,बैनी वा छोरीसँग गएर इनै प्रश्न गर्न सक्छौ ? सक्छौ भने, भन । त्यो कालो औँसीको रात भन्दा, अदालतमा उठाएका प्रश्नले नारीको अस्मितालाई धेरै नाङ्गो बनाउँदो रहेछ। जज साहेब! के यही हो, संविधानले दिएको नारीको अधिकार र सम्मान ? ” चारैतिर मौनता छायो।
मौनता तोड्दै न्यायाधीशले आदेश गरे…….. ” अर्डर ! अर्डर ! आज देखि यस्ता मुद्दाहरू न्यायीक अदालतमा बस्ने छैनन्। खुला आकाश तल जनताको अदालतमा यसको सुनवाई हुन्छ “।
असम, भारत