कन्सुलर सेवा विभागमा सेवा लिन सङ्केत नम्बर लिनुपर्ने

everest kitchen

काठमाडौँ। कन्सुलर सेवा विभागले लिखतहरूको प्रमाणीकरणका लागि सङ्केत नम्बरसहितको फाराम वितरण प्रारम्भ गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारको गत सोमबारको निर्णयअनुसार विभागले आजदेखि त्यस्तो व्यवस्था गरेको हो ।

विभाग परिसरमा सेवाग्राहीको भीड हुन नदिन तथा सहजरुपमा सेवा प्रवाह गर्न विभागले एकपटकमा २५ जना सेवाग्राहीलाई सङ्केत नम्बरसहितको फाराम वितरण गरी त्यसैअनुसार उनीहरूलाई प्रमाणीकरणका निम्ति अनुमति दिने व्यवस्था मिलाइएको विभागका निर्देशक धनबहादुर ओलीले बताए ।

यही वैशाख १२ गतेदेखि प्रमाणीकरणको समय बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म निर्धारण गरिएको छ । सङ्केत नम्बर पाएका सेवाग्राहीलाई आफ्नो नम्बरअनुसार विभागमा उपस्थित हुने व्यवस्था मिलाइएको उनले बताए । सेवाग्राहीलाई सङ्केत नम्बर हरेक दिन बिहान ८ देखि २ बजेसम्म उपलब्ध गराइनेछ ।