हराएका भनिएका सांसदलाइ भेट्न मुख्यमन्त्री अस्पतालमा

everest kitchen

पोखरा । केहि घण्टा सम्पर्कविहिन अर्थात् गायब भएर फेला परेका जनमोर्चा सांसद खिमविक्रम शाहीलाई भेट्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अस्पताल पुगेका छन् । अस्पतालले स्वास्थ्य मापदण्डको कारण देखाउँदै उनलाई शाहीसँग भेट्न भने दिइएको छैन ।

मुख्यमन्त्री गुरुङले अस्पताल पुगेर शाहीलाई नभेटी स्वास्थ्यलाभको कामना गरेका बताइएको छ । मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्तावका प्रक्रिया शुरु गर्ने बेलामा सांसद शाही हराएका थिए । उनको अनुपस्थितीका कारण गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । उनी हराएको भन्दै जनमोर्चाका सांसद पियारी थापाले प्रदेश सभा सचिवालयमा खोजी दिन आग्रह गर्दै निवेदन दिएकी थिइन् ।

राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको थियो । सभामुख नेत्रनाथ अधिकारीले राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र दिएको भन्दै उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उपयुक्त नहुने भन्दै अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाका ३ सांसदमध्ये शाही सम्पर्कविहीन भएको भन्दै उनको अवस्था सार्वजनिक गर्न माग गर्दै जनमोर्चा संसदीय दलकी सचेतक पियारी थापाले बुधबार नै प्रदेशसभामा पत्र दिएकी थिइन् । प्रदेशसभा सदस्य शाहीको खोजी गर्न माग गर्दै थापाले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रामशरण बस्नेतलाई पनि पत्र दिएकी थिइन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्ध गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश गरिएको छ । सोमवारबाट सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनमा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले संसदमा अविश्वासको प्रस्ताव पेश गरेका हुन ।

गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समावादी पार्टीका २८ प्रदेशसभा सदस्यको हस्ताक्षर सहित बैशाख २ गते संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको हो । अविश्वासको प्रस्ताव दर्ता अगावै चालु अवस्थामा रहेको हिउँदे अधिवेशन सरकारकातर्फबाट अन्त्य भएपछि विपक्षीहरुले विशेष अधिवेशनको माग गरेका थिए ।