सांसद शाहीलाई बन्दीका रूपमा किन राखियो, त्यसको कारण के हो? : जनमोर्चा

everest kitchen

 

पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्ना सांसद खिमविक्रम शाहीको स्थिति सार्वजनिक गर्न माग गरेको छ । पार्टीका केन्द्रीय नेता र प्रदेशका सांसद जाँदा पनि भेट्न नदिइएको भन्दै पार्टी उपाध्यक्षसमेत रहेकी प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गर्दै सांसद शाहीको स्थिति सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्।

‘उहाँलाई एक प्रकारको बन्दीका रूपमा किन राखियो र त्यसको कारण के हो?,’ उनले भनेकी छन्। सरकारी प्रयोगशालामा परीक्षण गर्दा नेगेटिभ आए पनि शाहीलाई कोरोना पोजेटिभ भनेर अस्पताल राखिएको जनमोर्चाको भनाइ छ। शाहीलाई कसरी कोरोना पोजेटिभ देखिएको हो भन्नेबारे पार्टीले भन्न नसक्ने पनि विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको थियो । सभामुख नेत्रनाथ अधिकारीले राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र दिएको भन्दै उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उपयुक्त नहुने भन्दै अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन् ।

प्रेस वक्तव्य
गण्डकी प्रदेशमा भएको संसदको गतिविधिलाई लिएर कैयौ प्रश्नहरु उठिरहेका र टिकाटिप्पणी भइरहेका छन् । त्यसबारेमा राष्ट्रिय जनमोर्चाको धारणा स्पष्ट गर्नको लागि यो वक्तव्य जारी गरिएको छ ।

गण्डकी प्रदेशको सरकारका विरुद्ध आएको अविश्वासको प्रस्तावलाई समर्थन गर्ने हाम्रो पार्टीको प्रष्ट र दृढ नीति छ । तर मतदानको दौरानमा जुन अस्वभाविक प्रकारका घटनाहरु घटे , त्यसप्रति हामीलाई आश्चर्य र दुःख लागेको छ ।

राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीको मतदानको बेलामा भएको अनुपस्थिति रहस्यमय भएको छ । पछि बुझदा उहाँलाई पोखराको एउटा अस्पतालमा भर्ना गरिएको र कसैलाई भेट्न पनि नदिइएको कुरा थाहा भएको छ । गण्डकी प्रदेशका सांसदहरुको स्वाब परीक्षण गर्दा उहाँको पीसीआर रिपोर्ट नेगेटिभ आएको सार्वजनिक भएको थियो । त्यसपछि अकस्मात उहाँको रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुरा थाहा हुन गएको छ । सरकारी प्रयोगशालामा जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको व्यक्तिलाई अकस्मात कसरी पोजेटिभ आयो ? त्यो कुरा बुझ्न हामी असमर्थ छौं ।

अहिले अस्पतालमा कसैलाई पनि उहाँसित भेट गर्न दिइएको छैन । राष्ट्रिय जनमोर्चाका जिम्मेवार केन्द्रीय नेता तथा गण्डकी प्रदेशका सांसदहरु जादा पनि उहाँलाई भेट गर्न दिइएको छैन । उहालाई एक प्रकारको बन्दीका रुपमा किन राखियो र त्यसको कारण के हो ? उहाँको स्थिति सार्वजनिक गर्नका लागि सरकारसित अनुरोध गर्दछौं ।

गण्डकी प्रदेशको संसदमा क , खिमविक्रम शाही रहस्यपूर्ण तरिकाले अनुपस्थित भएपछि राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले उहाँको स्थिति अज्ञात भएकोले उहाँबारे जानकारी गराउन तथा उहाँ उपस्थित नहुँदासम्म संसदमा मतदानलाई स्थगित गर्नका लागि सभामुखकहाँ निवेदन दिनुभएको थियो । त्यसका आधारमा गण्डकी प्रदेशको संसदलाई सभामुखले अनिश्चितकालको लागि स्थगित गरेको जानकारी प्राप्त भएको छ ।

गण्डकी प्रदेशको संसदको गतिविधिलाई हामीले अस्वभाविक रुपमा लिएका छौं । हामीले संसदको कामलाई सामान्य र स्वभाविक प्रकारले सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौं । क , खिमविक्रम शाहीको स्थितिबारे थप सूचना प्राप्त भएपछि हामीले जानकारी दिनेछौं । २०७५ बैशाख १६ गते
उपाध्यक्ष तथा प्रवक्ता : दुर्गा पौडेल