गाउँपालिका अध्यक्ष कुशवाहको निधन

everest kitchen

पर्सा। कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहको आज बिहान निधन भएको छ । पाँच दिनदेखि उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या जस्ता रोगबाट ग्रसित ८१ वर्षीय कुशवाहको बिहान २ बजे वीरगञ्ज –९ स्थित आफ्नै निवासमा निधन भएको हो । बढ्दो सङ्क्रमणका कारण घरमै उपचार गराइरहनुभएका कुशवाहलाई कोरोनाको लक्ष्य देखिए पनि पिसिआर टेष्ट नभएको परिवारिक स्रोतले जनाएको छ ।

कुशवाहको शव अन्तिम संस्कारका लागि कालिकामाई –२ भेडिहारीस्थित निवासमा बिहानै लगिएको उहाँका छोरा इन्दुभूषणले जानकारी दिए । चार दशकदेखि सक्रिय राजनीतिमा रहनुभएका कुशवाह सङ्घीय समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । तीन छोरा र पाँच छोरीका पिता कुशवाह अत्यन्त मिलनसार तथा मृदभाषी हुनाका साथै जनताप्रति समर्पित रहेको गाउँबासी बताउँछन् ।

त्यस्तै , दुई अङ्कमा भेटिदै आएको कोरोना सङ्क्रमितको सङ्ख्या पर्सामा तेहरो अङ्कमा प्रवेश गरेको छ । वीरगञ्ज नारायणी अस्पतालको प्रयोगशालामा २८८ जनाको स्वाब नमूनालाई परीक्षण गर्दा १७५ मा सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको स्वाब नमूनाको आज बिहान आएको परीक्षण रिर्पोटमा १० देखि ७२ वर्ष उम्मेर समूहका १३१ पुरुष र ४४ महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमितमध्ये सबैभन्दा बढी वीरगञ्ज महानगरपालिकाबाट १३१, बाराबाट ३४, सर्लाहीबाट पाँच, रौतहटबाट तीन र महोत्तरी तथा दाङबाट एक÷एक सङ्क्रमित भेटिएको नारायणी अस्पतालका कोभिड संयोजक डा दासले जानकारी दिनुभयो । उहाँले भेटिएका सङ्क्रमितको सिटी भ्यालु १४.२ देखि ३५.२ सम्म रहेको छ भने १५ देखि ३५ वर्ष उमेर समूहका सङ्क्रमितको सङ्ख्या बढी रहेको बताए । यससँगै पर्सामा कूल सङ्क्रमितको सङ्ख्या चार हजार ४३९ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २९२ रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।