पाँच पालिकामा सेना परिचालन, ४४ स्थानमा सशस्त्रको फरवार्ड पोस्ट

everest kitchen

 

झापा। कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना फैलाउन जिल्लाको पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ । मेचीनगर र भद्रपुर नगरपालिकासहित कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिकामा सेनाको टोली परिचालन गरिएको नेपाली सेनाका चारआलीस्थित श्रीनाथ गणका प्रमुख सेनानी अमरजङ्ग थापाले बताउनुभयो । गत वर्षसमेत कोभिड–१९ को महामारी तीव्रगतिमा फैलिएका बेला नेपाली सेनाको टोली दक्षिण झापाको कचनकबल गाउँपालिकामा परिचालन गरिएको थियो ।

सेनाले बनाउन थाल्यो होल्डिङ सेन्टर
नेपाली सेनाले काँकडभिट्टा नाकामा होल्डिङ सेन्टर निर्माण गर्न थालेको छ । श्रीनाथ गणबाट क्याप्टेन विजय निरौलाको कमाण्डमा गएको टोलीले काँकडभिट्टा खेलमैदानमा शुक्रबारदेखि होल्डिङ सेन्टरको पूर्वाधार निर्माणको काम शुरु गरेको हो । पहिलो दिन सेनाको टोलीले खेलमैदानको आधा भाग ओगट्ने गरी रेखाङ्कन गरेको छ भने बाँसलगायत सामग्री किनेर घेराबेरा बनाउन थालेको छ । यहाँ एक हजार क्षमताको होल्डिङ सेन्टर बन्न लागेको हो ।

सीमामा सशस्त्रको ४४ वटा फरवार्ड पोस्ट
यसैबीच झापामा भारतसँगको १४४ दशमलव दुई किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीले ४४ वटा फरवार्ड पोस्ट स्थापना गरेको जनाएको छ । सशस्त्र प्रहरी बल २ नं गणका सूचना अधिकारी प्रेम भण्डारीका अनुसार सीमा सुरक्षा र अपराध नियन्त्रणका लागि गत वर्ष १३ वटा फरवार्ड पोस्ट स्थापना गरिएका थिए । यसपालि ३१ वटा पोस्ट सीमा क्षेत्रमा स्थापना गरिएका छन् ।

कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिन थालेपछि सीमाबाट अवाञ्छित आवागमन हुन नदिन सशस्त्र प्रहरीले फरवार्ड पोस्ट स्थापना गरेको उहाँले बताउनुभयो । झापाका सीमावर्ती क्षेत्रमा हाल १८ वटा बोर्डर आउट पोस्ट रहेका छन् । सशस्त्र प्रहरीको परिचालन र पोस्टको बढोत्तरीपछि सीमा क्षेत्रमा नेपाली सुरक्षा व्यवस्था कसिलो भएको छ ।

झापामा आइतबारदेखि निषेधाज्ञा
कोभिड–१९ को बढ्दो सङ्क्रमण रोक्न झापामा आइतबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले शुक्रबार जारी गर्नुभएको आदेशमा अत्यावश्यक कामबाहेक सर्वसाधारणले घर बाहिर निस्कन नपाइने उल्लेख छ । आदेशमा हाटबजार, भेला, जुलुस, सभा, मेला, भोजभतेर आदि गर्न नपाइने भनिएको छ । निषेधाज्ञा आइतबार राति १२ बजेबाट शुरु हुने र वैशाख २६ गते राति १२ बजे समापन हुने भएको छ ।

सिनेमा हल, स्वीमिङ पुल, सामूहिक खेलकूद, पुस्तकालय, जिमखाना, पार्टीप्यालेस, सैलुन र ब्यूटीपार्लर सो अवधिमा बन्द गरिनुपर्ने निषेधाज्ञामा जनाइएको छ । निषेधाज्ञामा यातायातमा जोर बिजोर लगाउने र सरकारी कार्यालयसहित बैंक र वित्तीय संस्थामा आलोपालो प्रणाली लागू गराउने भनिएको छ । शुक्रबार कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठक बसेको थियो । बैठकलगत्तै निषेधाज्ञा जारी गरिएको थियो ।