मकवानपुरका चार स्थानीय तहमा निषेधाज्ञा लागु

everest kitchen

 

हेटौँडा। मकवानपुरमा आजदेखि यही वैशाख ३१ गतेसम्मका लागि चार स्थानीय तहमा निषेधाज्ञा लागू गरिएको छ । हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा गए मध्यरातबाट निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा १० स्थानीय तह छन् ।

यही वैशाख १७ गते बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गर्न सिफारिस गरेको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा लागू भएका क्षेत्रमा अत्यावश्यक बाहेकका काममा घरबाहिर निस्कन पाइने छैन भने अत्यावश्यक उपभोग्य वस्तु खरीदका लागि बिहान ५ः०० देखि ९ः०० बजेसम्मको समय तोकिएको छ ।

त्यस्तै,मकवानपुरको कैलाश गाउँपालिका–९ मा १८ जनामा कोरोना संक्रमण देखिएको छ ‌। आइतबार नामटार बजारमा २५ जनामा परीक्षण गर्दा १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मुक्तानले जानकारी दिए ।

संक्रमित हुनेमा ४ वर्षदेखि ८० वर्षसम्मका नागरिक छन् । क्षणसहितका विरामी देखिएपछि गाउँपालिकाले आइतबार परीक्षण गराएको हो । संक्रमण पुष्टि भएका व्यक्तिहरु होम आइसोलेसनमै रहेको र उनीहरुलाई स्वास्थ्यकर्मीले आवश्यक परामर्श र निगरानीमा राखिएको अध्यक्ष मुक्तानले बताए ।

संक्रमण फैलिएको पाइएपछि सो वडामा स्वास्थ्य, सुरक्षा जस्ता अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । विद्यालय, संघ संस्था, पसल लगायत सम्पूर्ण सार्वजनिक गतिबिधिमा रोक लगाइएको गाउँपालिका अध्यक्ष मोक्तानले जानकारी दिए । पछिल्लो समय देशभर कोभिड संक्रमित बढे संगै मकवानपुरमा निषेधाज्ञा लागु गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो संक्रमण नेपालमा हालसम्मकै सर्वाधिक हो।