अन्तरराष्ट्रिय नेपाली समाजले एक लाख राशिको पुरस्कार स्थापना गर्ने

everest kitchen

काठमाडौँ। अन्तरराष्ट्रिय नेपाली समाजले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा विशेष योगदान दिने व्यक्तित्वलाई हरेक वर्ष रू एक लाख बराबरको आईएनएस सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ ।

समाजले भर्चुअलरुपमा आयोजना गरेको विश्व नेपाली साहित्य सम्मलेनको घोषणापत्र–२०२१ मा स्रष्टाहरूको स्तरीय कृतिलाई प्रकाशन गर्न प्रोत्साहन गर्ने र त्यस्ता कृतिलाई अन्तर्राष्ट्रियकरण गर्ने, मानवीय मूल्य मान्यताको संरक्षण, सम्बर्धन र प्रवद्र्धनका लागि धर्म र संस्कृतिको रक्षा गर्ने एवं सामाजिक कुप्रथालाई साहित्यमार्फत सचेत गराउँदै लानेलगायत १६ बुँदा छन् ।

यस्तै, नेपाली समाजमा व्याप्त लैङ्गिक विभेदको अन्त्यका लागि कला–साहित्य सृजना एवं विचार विमर्श गर्ने, मातृभाषा एवं लोपोन्मुख भाषाको अभिलेखीकरण एवं साहित्य लेखनलाई प्रोत्साहन गर्ने, नेपाली भाषा तथा साहित्यमा कलम चलाउने प्रवासी नेपाली स्रष्टाहरूलाई समेत अन्तर विश्वविद्यालयस्तरीय विचार, विमर्श र विभिन्न विधागत प्रतियोगिताहरूमा प्रतिस्पर्धा गराउने, भाषा आयोग, नेपाल प्रज्ञा प्रतिष्ठान, विश्वविद्यालय र नेपाली मुलका प्रवासीद्वारा सञ्चालित सङ्घसंस्थासँग समन्वय गर्ने घोषणा पनि गरिएको छ ।

समाजका अध्यक्ष अर्जुन घिमिरेको अध्यक्षतामा भएको सम्मेलनले अन्तराष्ट्रियस्तरमा नेपाली र नेपालका विश्वविद्यालयमा विदेशी मूलका प्रमुख भाषा–साहित्यलाई तुलनात्मक अध्ययनका रूपमा अध्ययन–अध्यापन गराउन अनुरोध गर्ने, विद्यालय तथा विश्वविद्यलयका पाठ्यक्रममा प्रवासी नेपालीले लेखेको सृजना समावेश गराउन साथै विषय विज्ञताका आधारमा स्रोत व्यक्तिका रूपमा सहभागी गराउन तथा विभिन्न विश्वविद्यालयको दर्शनाचार्य वा सिधै विद्यावारिधिको अध्यापन गराइने स्तरमा लोकसाहित्यलाई विषयको रूपमा समावेश गराउन पहल गर्ने, अनुसन्धान पद्दतिका विधिहरूलाई पनि नेपाली साहित्यको अध्ययनमा संलग्न गराउन प्रोत्साहन गर्ने समाजले निर्णय गरेको समाजका नेपाल संयोजक डा जानुका नेपालले जानकारी दिए।

यस्तै प्रवासी नेपालीलाई समेटेर सरकारी एवं गैर–सरकारी रेडियो वा टेलिभिजनबाट नियमित नेपाली तथा मातृभाषा साहित्यसम्बन्धी कार्यक्रमहरू गर्ने, गराउने, लामो समयदेखि सृजना गर्दै आउनुभएका साहित्य एवं कलाका क्षेत्रमा समर्पित सर्जकलाई राज्यको तर्फबाट विशेष सेवा सुविधाका लागि पहल गर्ने, विश्वव्यापीरूपमा देखा परेको जलवायु परिवर्तन र यसले पारिरहेको प्रभावबारे अध्ययन तथा सृजना गर्ने स्रष्टा–अध्येताहरूलाई प्रोत्साहन गर्ने र कुनै एक लोपोन्मुख भाषाको अभिलेखीकरण गर्न विद्वतवृत्ति प्रदान गर्ने घोषणापत्रमा उल्लेख छ ।