सम्बन्धित स्थानीय तहको सिफारिस भए उपत्यकाबाट गाउँ फर्किन मिल्ने

everest kitchen

काठमाडौं । काठमाडौं उपत्यकाबाट गाउँ फर्किन अब सम्बन्धित स्थानीय तहको सिफारिस चाहिने भएको छ ।मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यका बाहिर जानेसँग सम्बन्धित स्थानीय तहको सिफारिस माग गर्ने निर्णय गरेको हो ।

यसअघिको लकडाउनमा जस्तै सम्बन्धित स्थानीय तहले १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धता जनाएमात्र उपत्यका बाहिर जान सहजीकरण गर्ने निर्णय गरेको उपत्यकाका प्रशासन कार्यालयका एक अधिकारीले बताए । यसअघिको लकडाउनमा उपत्यकाबाट घर फर्किनलाई सम्बन्धित स्थानीय तहको सिफारिस चाहिन्थ्यो ।

‘उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्य रुपले १० दिन क्वारेन्टिन राख् प्रतिवद्धता सहितको सिफारिसका आधारमा गन्तव्यस्थलमा जान दिने’ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णयमा भनिएको छ ।

कोरोना भाइरस महामारी रोकथामका लागि उपत्यकाका तीन जिल्लामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । काठमाडौं लगायत हाल नेपाल भरी करिब ४ दर्जनबढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कतिपय जिल्लामा भने संक्रमितको सङ्ख्याको आधारमा आंशिक निषेधाज्ञा जारी गरिएको छ ।

साथै सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । हवाई उडान बन्द भएपनि आवश्यकता अनुसार उद्दार उडान तथा चार्टर्ड उडान भने गर्न मिल्ने बताएको छ । अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुने भएपछि विदेशबाट स्वदेश फर्किने नेपालीहरु भने मारमा पर्नेछन् ।