जीप दुर्घटनामा चालकको निधन

everest kitchen

 

दाङ। दाङमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । रोल्पाको लिवाङबाट घोराहीतर्फ आउँदै गरेको बा१३च ८०४८ नंको जीप मङ्गलबार राति करीब ९ बजेतिर घोराही मुर्कुटी सडक खण्डमा पर्ने घोराही–४ उर्लेकेनी ओरालोमा सडकबाट करीब ८०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा गाडी चालक घोराही–१६ का अन्दाजी २८ वर्षीय विष्णु गिरीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रहरी नायब निरीक्षक उत्तम जिसीले जानकारी दिए । दुर्घटनामा तुलसीपुर–१६ का अन्दाजी २३ वर्षीय वसन्त भण्डारी र तुलसीपुर–४ का ३३ वर्षीय राजकुमार थापा घाइते भएका छन् ।

घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । डोजर मर्मतका लागि रोल्पा पुगेका उनीहरु जीप रिजर्भ गरेर दाङ फर्कंदै गरेका थिए । राति दुर्घटना भए पनि कसैले थाहा नपाएका कारण आज बिहान मात्रै घाइतेहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ । शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।