विद्युत् अभावमा बन्द भएको दाङको अक्सिजन उद्योग पुनः सञ्चालन गरिने

everest kitchen
file photo

दाङ्ग। विद्युत् अभावमा बन्द दाङको अक्सिजन उद्योग विद्युत् जडान गरेर सञ्चालनमा ल्याइने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिङ्नीस्थित अक्सिजन उद्योगमा चौबीसै घण्टा विद्युत् आपूर्तिका लागि तत्कालै छुट्टै लाइन जोडिने भएको छ । कोरोना सङ्क्रमित बढ्दै जाँदा अक्सिजनको माग बढेपछि उद्योगमा विद्युत् जोडिने भएको हो ।

उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका समन्वयमा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, प्रहरी प्रमुख गणेश चन्द, राष्ट्रिय अनुसन्धानका निर्देशक अर्जुन भण्डारी, नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रका प्रमुख अमितकुमार कर्ण र अक्सिजन उद्योगका सञ्चालक टोपाराम पौडेलसहितको मंगलबार बसेको बैठकले दाङ अक्सिजन प्रालिमा तत्काल विद्युत् जोड्ने निर्णय गरेको छ ।

छ वर्ष पहिले अक्सिजन उद्योग स्थापना भए पनि विद्युत् भरपर्दो नहँुदा उत्पादन बन्द भएको थियो । जटिलावस्थामा रहेका कोरोना संङ्क्रमितलाई वायुप्राण अर्थात् अक्सिजनको अत्यधिक माग रहेका समयमा सरोकार निकायले यस्तो निर्णय गरेको हो । विसं २०७३ मा खुलेको दाङ अक्सिजन उद्योग प्रालिसँग दैनिक दुई सय सिलिण्डर अक्सिजन भर्न सक्ने क्षमता रहेको उद्योगका व्यवस्थापक भरत पौडेलले बताए ।

विद्युत् नियमित भए अहिले पनि दैनिक १५० सिलिण्डर भर्न सक्ने उनको भनाइ थियो । विद्युत् नियमित र भरपर्दो बनाउन सके यो संकटको सामना सहजै गर्न र बिरामीको ज्यान बचाउन सकिने पौडेलले बताए । उद्योगका लागि छुट्टै फिडरको व्यवस्था भए चौबीसै घण्टा अक्सिजन उत्पादन गर्न सकिने उनको भनाइ थियो ।

कोरोना संक्रमितका लागि जिल्लामा दैनिक एक हजार सिलिण्डर अक्सिजन आवश्यक पर्ने भए पनि अहिले दैनिक चार सय अक्सिजन सिलिण्डर अपुग हुने गरेको छ । पालिकाले बनाएका आइसोलेशन सेन्टर र अस्पतालमा अक्सिजन सिलिण्डरको अभाव छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा पछिल्लो चार दिनदेखि अक्सिजनको अभाव छ । त्यहाँ नेपालगञ्जबाट अक्सिजन ल्याउनुपर्ने बाध्यता छ ।