कडाइकासाथ मापदण्ड लागु गरेर अन्तर्राष्ट्रिय उडान सुचारू गर्नुपर्नेमा राजदुतहरुको जोड

everest kitchen

काठमाडौ। कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्टको प्रभाव, नियन्त्रणका लागि नेपाली राजदूतहरु र उप-नियोग प्रमुखहरूबीच छलफल सम्पन्न भएको छ । ओमान स्थित नेपाली राजदूतावास मस्कटको संयोजनमा मंगलबार मध्यपूर्वका साथै पाकिस्तान, इजिप्ट, दक्षिण अफ्रिका र मलेसिया लगायतका मुलुकहरूमा कोभिड-१९ को नयाँ भेरियन्टको प्रभाव, नियन्त्रणका लागि चालिएका कदम, खोपको अवस्था तथा यस सम्बन्धमा नेपालले चाल्नु पर्ने उपयुक्त कदममा सम्बन्धमा भर्चुल सम्बाद कार्यक्रम भएको हो।

कार्यक्रमका सहभागीहरूले आफू कार्यरत तथा सहप्रमाणीकृत मुलुकहरूमा कोरोना भाइरसको नयाँ भेरियन्टको प्रभाव र त्यसको नियन्त्रणका लागि ती मुलुकहरूले चालेका प्रभावकारी कदमहरू तथा खोपको उपलब्धता र त्यसको प्रभावकारीताको सम्बन्धमा आ-आफ्ना अनुभवहरू आदान-प्रदान गरेका थिए।

नयाँ भेरियन्टको बढ्दो संक्रमण र जोखिमका कारण विभिन्न मुलुकहरूले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध तथा ती मुलुकमा रहेका नेपाली समुदायमा पर्ने प्रभावको सम्बन्धमा पूर्व सूचना, तयारी, उद्दार तथा राहत सम्बन्धमा आ-आफ्ना विचारहरू व्यक्त गरेका थिए । नेपाली श्रमिकहरू कार्यरत रहेका श्रम गन्तव्यहरूबाट स्वास्थ्य सतर्कता सम्बन्धी मापदण्डहरू कडाइका साथ पालन गर्ने र गराउने गरी यथासक्य चाडो अन्तर्राष्ट्रिय उडान सुचारू गर्नका लागि नेपाल सरकारले आवश्यक व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै,यात्रुहरूको निगरानी गर्न तथा कोभिड-१९ को संक्रमणको रोकथामका लागि अवलम्बन गरिएका नियमहरूको पालना गराउन विभिन्न मुलुकहरूले प्रयोगमा ल्याएका मोबाइल एप्सहरू पनि महामारी नियन्त्रणमा सान्दर्भिक तथा प्रभावकारी देखिएकाले नेपालले पनि त्यस्तै प्रकारको एप्सहरू विकास गरी संचालनमा ल्याउनु पर्नेमा जोड दिए ।

ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालक्वारा संयोजित सो कार्यक्रममा साउदी अरवका नेपाली राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपूत, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारी, कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्बाज, यूएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकाल, सहभागिता रहेको थियो ।

त्यस्तै, ईजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी, दक्षिण अफ्रिकारा लागि नेपाली राजदूत डा. निर्मल कुमार विश्वकर्मा र ईजिप्टस्थित नेपाली राजदूतावासका उप-नियोग प्रमुख (द्बितीय सचिव) श्दिपक घिमीरे लगायतको सहभागिता रहेको थियो ।